बिर्तामोड ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । विर्तामोडमा आयोजना गरिएको ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताएका हुन् ।
सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने धारणा राखे ।
उनले मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय भएको र सुरक्षाका कारण मनोबल कमजोर भएकोबताए । उनले त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका सङ्घ संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।


















