धाइजन ।
झापा मेचीनगर–११ को लाल–भागिरथा बानियाँ प्रतिष्ठानले यसपटक तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
शनिबार धाइजनमा प्रतिष्ठानको ७ औं बार्षिक साधारण सभामा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
उनीहरुलाई जनही नगद ३१ हजार राशिसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । भद्रपुर–८ निवासी काजी झापाका वरिष्ठ पत्रकार हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।
त्यस्तै, ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजबंशी मेचीनगर–७ स्थित मदन वस्ती निवासी हुन् । उनले १२१ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।
यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।
सबै पुरस्कृत प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार वस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।
यसैबीच प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ गरिएको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तित्वकला प्रतियोगिता विजेता बनेका चार जना विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरेको थियो ।


















