बिर्तामोड ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन–जी लगायतका सरोकारवालाको सर्वपक्षीय सहमतिका लागि जनदबाब सृजना गर्न सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुस १२ गते बिर्तामोड आउने भएका छन् । जेन–जी आन्दोलनपछिको परिवर्तित सन्दर्भमा राप्रपाको अवधारणा सुनाउन उनी झापा आउन लागेका हुन् ।
राजा, राजनीतिक दल र जेन–जी लगायतका सरोकारवालाको सर्वपक्षीय सहमतिका लागि जनदबाब सृजना गर्न सभाको आयोजना गरिएको राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका छन् । अध्यक्ष ओझाका अनुसार उक्त अवसरमा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको छ ।
राप्रपाले राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा लामा समयदेखि आवाज उठाउँदै आएको छ । पछिल्लो समय जेन–जीका मुद्दालाई समेत सम्बोधन हुने गरी सर्वपक्षीय सहमतिका लागि राप्रपाले देशव्यापी रुपमा जनदबाब सृजना गर्न लागेको बताइएको छ । उक्त सभा बिर्तामोडको मुक्तिचोकमा विहान ११ बजेदेखि शुरु हुने बताइएको छ ।
बिर्तामोडमा हुने आमसभाको तयारीका लागि राप्रपा हल्दिबारी गाउँ कार्यसमितिले पनि शुक्रवार विभिन्न बिषयमा छलफल गरेको छ ।


















