धुलाबारी ।
विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित ‘इष्ट होराइजन सिंगिङ एण्ड डान्सिङ आइडल–२०८२’ शनिबार सम्पन्न भएको छ ।स्कूल परिसरमा आयोजित भव्य समारोहकाबीच सम्पन कार्यक्रममा यस वर्षको होराइजन डान्सिङ आइडल सिन्सा तुम्रुक र होराइजन सिंगिङ आइडल प्रतिक विक बनेका छन् । अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् ।
फाइनल राउन्डमा डान्सिङतर्फ ७ तथा सिंगिङतर्फ ७ जना छनोट भएका थिए । सिंगिङतर्फ कृष्ण योन्जन र जोनी योन्जन तथा डान्सतर्फ सन्तोष मगर र वर्षा फुँयलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
हरेक वर्ष आयोजना गरिँदै आएको आइडलको अडिसन गत भदौबाट सुरु गरिएको थियो । अडिसनमा डान्सिङतर्फ करिब २३५ जना र सिंगिङतर्फ १७७ जना विद्यार्थी सहभागी भएको इष्ट होराइजनकी प्रशासन प्रमुख सावित्रा सापकोटा राईले बताइन् ।
विद्यालयका प्रिन्सिपल सन्जिव राईले अध्ययनसँगै अतिरिक्त विधामा स्कूलले शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको बताए । उनले विद्यार्थीको भावना र समयअनुसारको शैक्षिक क्रियाकलाप आवश्यक रहेको चर्चा गरे । प्रिन्सिपल राईले विद्यार्थीको प्रतिभालाई स्टेजमार्फत उजागर गर्न कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षता तथा मेचीनगर शिक्षा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा प्रमुख भण्डारीले विद्यार्थीलाई रुचि अनुसारको शिक्षा दिनुपर्ने बताए । उनले विद्यार्थीको प्रस्तुति माथि मुक्तकण्ठले प्रशंसासमेत गरे ।
कार्यक्रममा धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, शहिद दशरथचन्द माविका प्रअ लेखनाथ पौडेल ९केशव० लगायत शैक्षिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थीले आलोपालो रुपमा गरेका थिए । पूर्वमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सञ्चालित इष्ट होराइजन अंग्रेजी माविले अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि आफ्नो दमदार प्रस्तुति दिँदै आएको छ ।


















