बिर्तामोड । 

झापामा पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम गरिएको छ । झापाका १०० भन्दा बढी सामाजिक संस्थाहरूको सामूहिक अभियान अन्तरगत पठन संस्कृति वर्ष घोषणा गरिएको हो । 

बिर्तामोडमा आज (सोमवार) तीर्थ सिग्देलको ‘त्यो झापा’ इतिहास र हेम गुरागाईंको उपन्यास दिगो समाधान नामक पुस्तक विमोचनसँगै पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम गरिएको छ । 

वर्ष २०२६ लाई पठन संस्कृति वर्षको रूपमा मनाउने घोषणासहित सामाजिक स्तरबाट अभियानको प्रारम्भ गर्ने र सो अभियानलाई सरकारी कार्यक्रमको रूपमा अगाडि बढाउन सरकारलाई ज्ञापन पत्र मार्फत् अनुरोध गर्ने कार्यक्रमको उद्देश्य रहेको लेखक तीर्थ सिग्देलले जानकारी दिए । 

सिग्देलका अनुसार आ–आफ्नो संघसंस्था, साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था र सामाजिक व्यक्तित्व, विद्यार्थीमाझ पठन संस्कृतिको विकास गराउन सन्देशमुलक कार्यक्रम सञ्चालन गर्ने, सन् २०२६ वर्षलाई पठन संस्कृति वर्षको रूपमा मनाउन सबै संघसंस्थाहरूसँग सहकार्य गरी विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने र  स्थानीय तहलगायत यस अभियानमा जोडिएका संघसंस्थाहरू माझबाट एक शैक्षिक सरोकार समिति गठन गरी सरोकारवालाहरूमाझ शैक्षिक, सामाजिक एवम् पठन संस्कृति बढाउन अभियान सञ्चालन गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको बताइएको छ । 

जुनसुकै कार्यक्रममा पुस्तक उपहारको विकास गरौंः महेन्द्रकुमार गिरी 
सहकारी/सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापामा धेरै अस्पतालहरु भएको र प्रत्येक अस्पतालले कुरुवाका लागि पुस्तक पढ्ने ठाउ बनाउनु पर्ने बताए । साहित्य कला र संस्कृतिलाई समेट्ने खालको इभेन्टहरु सञ्चालन गराउनु पर्ने बताउँदै गिरीले यसका लागि एक करोडको अक्षय कोषको स्थापना गर्न अभियान सञ्चालन गर्नु पर्ने बताए ।  झापालाई पठन सांस्कृतिको विकास गर्नुपर्ने उनको भनाई थियो । 
हरेक कार्यक्रममा मायाको चिनोको रुपमा पुस्तक उपहार, बच्चाको मुख हेर्न जाँदा पनि उपहार पुस्तक लाने, कुनैपनि यात्रामा जाँदा कुनै न कुनै पुस्तक वा बुक लिएर जानु पर्ने र  किताव पढ्ने र बोक्ने फेशनका रुपमा विकास गर्नु पर्ने गिरीले बताए । 

कार्यक्रममा झापाको इतिहासबारे विवेचना वरिष्ठ अधिवक्ता/लेखक लीला उदासी, समाज विकासका लागि अभियानको भूमिका सहकारी/सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी,  पठन संस्कृतिले समाजमा पार्ने प्रभावका बिषयमा सामाजिक अभियन्ता /लेखक केदार शर्माले आ–आफ्नो धारणा राखेका थिए ।  

अभियानका लागि अभियान्ता, वीरता रिडर्स, रिडर्स अभियान नेपाल, झापाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रमको संयोजन इशा बुक्स सेन्टर, मिडिया रिसर्च सेन्टर र सहकार्य न्यूटन्स एजुकेशन एकेडेमीले गरेको थियो । 

कार्यक्रममा झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था र सामाजिक व्यक्तित्व, विद्यार्थीहरू गरी २५० जनाको सहभागिता रहेको बताइएको छ । सोही कार्यक्रमकाबिच गीत, कविता, गजल वाचनलगायत कार्यक्रम पनि गरिएको थियो ।