सुरुङ्गा ।
संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरण समेत भोगेका आदिवासी नेता स्व। तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।
२९औं तुर्सा हेमरम स्मृति दिवसका अवसरमा आज (आइतबार) तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसर कनकाईमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमहरुको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राखेका हुन् ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व। तुर्सा हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको कृतिलाई अमर बनाइराख्न प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रतिष्ठानको गतिविधि र भावी कार्यक्रमको बारेमा जानकारी गराउँदै भवन निर्माण कार्य समाप्त भइसकेपछि यसको ब्यबस्थापनको जिम्मेवारी समुदायमै हस्तान्तरण गरिने जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं र कन्काई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रजतन्त्र सेनानी आदिवासी नेता सुरेश बास्के, उमा सिटौला, मनोज बस्नेत, अर्जुन बोहोरा, तुर्सा हेमरमका परिवारजन लगायत कांग्रेसका नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्व. हेमरमका नाति सुन्दरले बाजेको योगदानको स्मरण गर्दै परिवारको तर्फबाट सुझाव प्रस्तुत गर्नुभएको थियो भने स्व. तुर्साको जीवनी वाचन सदस्य शिवकुमार कंडेलले गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष टिका मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कुमारमणि पोखरेलले गरेको रश्मिशेखर सुवेदीले जानकारी दिए ।


















