मोरङ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। महारानी ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो।
नासिर आउटसोर्सिङ कन्सल्टेन्सीको आर्थिक सहयोगमा अनाथ, विपन्न तथा आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका सचिव विष्णु उप्रेतीले जानकारी दिए।
पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। जाडोयाममा न्यानो कपडाको अभावका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले बताए।
कार्यक्रमको अवसरमा आर्थिक सहयोग उपलब्ध गराउने वीरेन्द्रकुमार राउत तथा उहाँकी धर्मपत्नी विष्णुमाया राउतलाई सम्मान गरिएको थियो। कार्यक्रममा महारानी ट्युसन सेन्टर, न्यु बराल फेन्सी स्टोर दमक तथा पाथिभरा ट्रेडर्स, गौतम स्टोरको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य मीना विश्वकर्मा, महारानी ट्युसन सेन्टरका पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सामाजिक सेवामा सक्रिय सहयोगी मनहरू नेपालले देशका विभिन्न क्षेत्रमा पुगेर अनाथ, असहाय तथा विपन्नलाई आवश्यकताअनुसारको सहयोग उपलब्ध गराउँदै आएको छ।


















