हल्दीवारी ।
झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ३ कार्यालयले वडाका कृषकलाई कृषि औजार वितरण गरेको छ । वडा कार्यालयले आज (शुक्रवार) वडाका ५६ जना कउषकलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि औजार अन्तरगत मकै छोडाउने मेशिन वितरण गरेको वडा सचिव राजन खतिवडाले जानकारी दिए ।
कृषि सशक्तीकरण कार्यक्रम अन्तरगत वडाको सिलिङ बजेटबाट ५० प्रतिशत लागत साझेदारीमा मकै छोडाउने मेशिन वितरण गरिएको वडाध्यक्ष बिष्णुप्रसाद ओलीले जानकारी दिए । वडाध्यक्ष ओलीका अनुसार आज दोस्रो चरण कृषि औजार वितरण गरिएको हो ।
कृषकको ८ हजार र वडाको ८ हजार गरी एक कृषक बराबर १६ हजार रुपैयाँ बराबरको मकै छोडाउने मेशिन ५६ जनालाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष बिष्णुप्रसाद ओलीको अध्यक्षतामा भएको कृषि औजार वितरण कार्यक्रममा वडा सदस्य बिष्णुमाया तिम्सिना र कर्ण भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।


















