झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनी तथा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार साँझ करिब ७ः४० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक प्रविण श्रेष्ठ तथा प्रहरी हवल्दार पञ्चनारायण मेहताको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ पाण्डेचोकका २५ वर्षीय निरोज लिम्बु र भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका २६ वर्षीय सागर प्रधान रहेका छन्। उनीहरूका साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ४६ ग्राम र प्लास्टिक बाहेक ४१ ग्राम ५८० मिलिग्राम बरामद गरिएको छ।
उनीहरू प्रयोग गर्दै आएको प्र.१–०१–०१५ प ३४२७ नम्बरको स्कुटर, दुई थान स्क्रिन टच मोबाइल र एक थान किप्याडवाला मोबाइलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















