बिर्तामोड । 

‘दीगो समृद्धिका लागि हरित लगानी’ भन्ने मुल नाराका साथ तीन बर्ष अघि स्थापना भएको इष्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बिर्तामोडमा भव्य रुपमा सम्पन्न भएको छ । छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङलाई प्रोत्साहन, प्रवर्धन गर्ने र कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनाहरुमा लगानी गर्ने उदेश्य राखेको छ । 

साथै सवैलाई उद्यमशीलतासँग जोड्ने लक्ष्यका साथ २०७९ मंसीर ११ गते कम्पनी दर्ता गरिएको कम्पनीले आज (आइतवार) तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीले जलबिद्युत, सौर्य, उर्जा, पर्यटन, प्रविधि, सेवा, पूर्वाधारलगायतका क्षेत्रहरुमा लगानी गर्दै आएको कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । 

istarn 1

अध्यक्ष गिरीका अनुसार कम्पनीले सामाजिक, वित्तिय क्षेत्र, हाइड्रोपावर सम्बन्धीत प्रतिष्ठित व्यक्तिहरु, सामाजिक उद्यमी, चार्टर्ड एकाउण्टेन्ट, अन्य व्यवासायिक लगायतका प्रवृद्ध व्यक्तिहरुको समुहद्धारा संस्थापित र सञ्चालित स्वःपुँजीको क्षेत्रमा आफ्नो लगानीलाई विस्तार र विविधीकरण गर्दै मुलुकको हरित लगानीमा टेपा पुर्याउँदै आर्थिक विकासमा योगदान गर्ने उदेश्य राखेको छ । कम्पनीका परिकल्पनाकारसमेत रहेका अध्यक्ष गिरीले कम्पनीले स्थापनाको तेस्रो बर्षमै सवैको मन जित्न सफल हुँदै राम्रो प्रगति गरेको बताउँदै आगामी ६ महिना भित्र आइपिओ जारी गर्ने योजना रहेको बताए । 

कम्पनीका अध्यक्ष गिरीको अध्यक्षता भएको कार्यक्रममा महानायक राजेश हमालको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि महानायक हमालले सभालाई सम्बोधन गर्दै मुलुकमा विभिन्न प्रकारका समस्या रहेकाले उक्त समस्या समाधानका लागि नागरिक स्तरबाटै लाग्नु पर्नेमा जोड दिए । इस्टर्न सहारा कम्पनीले छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरेर सवैलाई उद्यमशीलतामा जोड्न खोजेको उनको भनाई थियो । 

महानायक हमालले देशमा विविध समस्याहरू रहेको उल्लेख गर्दै समस्याहरु छन् भनेर भाग्न नहुने तर्क गरे । उनले समस्याको समाधानका लागि सबैले आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने बताए । उनले कम्पनीले छरिएका पूँजीहरुलाई एकीकृत गरेर देशको पर्यटनसँगै आर्थिक क्षेत्रमा टेवा पु¥याउन कम्पनीले अहम भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । 

कार्यक्रममा कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको पूँजीको संरचनाको विषयमा जानकारी गराएका थिए । उनका अनुसार कम्पनीको अधिकृत पुँजी १५० करोड,  जारी पूँजी १३७ करोड ५० लाख, चुक्ता पूँजी ११० करोड र सञ्चित मुनाफा ३ करोड ९१ लाख ७ हजार  ६३६ रहेको छ ।

यसैगरी सर्वसाधारण समूह आइपीओबाट २७ करोड ५० लाख, प्रतिशेयर आम्दामी २५५ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेट अर्थ १०२ रुपैयाँ ८१  पैसा रहेको छ ।कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्काले पनि कम्पनीले उल्लेखीय प्रगति गरेको बताएका छन् ।  

कम्पनीकी सञ्चालक कल्पना बिकले स्वागत गरेकी कार्यक्रमको सञ्चालन कम्पनीका शेयर सदस्य एकराज गिरीले गरेका थिए । कार्यक्रममा सञ्चालक गोपाल भट्टराई र पवन राजवंशीको पनि आतिथ्य  रहेको थियो भने शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रममा मौलिक संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत गरिएको थियो ।