बिर्तामोड ।
राष्ट्रिय परिर्वतन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा उम्मेद्वार घोषणा गरेको छ । बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो । झापा–५ मा पार्टीको तर्फबाट सविन चाम्लिङ राईले उम्मेद्वारी दिने बताइएको छ । फोटो ग्राफर समेत रहेका कमल गाउँपालिका निवासी राईले पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष राजेश पोर्तेल रहेको पार्टीले उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने जनाइएको छ । प्रत्यक्ष निर्वाचत राष्ट्रपति प्रणाली, भ्रष्ट्रचार शूनयता लगायतका एजेन्डाहरुलाई अघि बढाउँदै पार्टीले आफ्ना चुनावी कार्यक्रमलाई अघि बढाएको राईले जानकारी दिए ।
पार्टीको तर्फबाट समानुपातिक उम्मेद्वार बनेका शहीद र घाइते तर्फका संयोजक समेत रहेका प्रकाश भट्टराईले पार्टीले शहीद, घाइते तथा जेन–जीको एकताको पार्टी राष्ट्रिय परिर्वतन पार्टी भएको बताए । पार्टीले देशका विभिन्न स्थानमा उम्मेद्वार तय गर्दै उम्मेद्वारी घोषणा गर्ने काम भइरहेको पार्टीकी अञ्जना राईले बताइन् । उनले आफ्नो पार्टीले विदेश जानुपर्ने अवस्थाको अन्त्य तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने अवस्थाको विकास गर्न आफुहरुको पार्टी लाग्ने बताइन् ।
सबैले अपनत्व हुने हिसाबले आफुहरुले चुनावी अभियान सञ्चालन गरिरहेको र निर्वाचनमा बाँसुरी चुनाव चिन्हसहित मैदानमा उत्रने उनीहरुको भनाई छ । जेन–जी आनदोलनपछि बनेको सरकारले कुनै पनि काम गर्न नसकेको भन्दै परिर्वतनकारी शक्तिहरु एक हुनका लागि छलफललाई समेत निरन्तरता दिइरहेको जनाइएको छ ।


















