बिर्तामोड।

नेपाली कांग्रेस बिर्तामोडका कार्यकर्ताहरुले नेपाली कांग्रेस पार्टी फुटाएर देश र जनतालाई नरुवाउन काठमाण्डौमा रहेका नेताहरुलाई चेतावनी दिएका छ्न् । बिर्तामोड पार्टी प्यालेसमा आज अपरान्ह भेला भएका कार्यकर्ताहरुले काठमाडौं गएका महाधिवेशन प्रतिनिधिहरुलाई पार्टी एक बनाएर फर्कन अपिल गरेका हुन् । 

निकै भावुक र चिन्तित कार्यकर्ताहरुको उपस्थितिलाई छोटो सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टी फुटाउने नेताहरुलाई  सहिद र प्रजातान्त्रिक आन्दोलनका योद्धाको श्राप लाग्ने भनाई छ । पार्टी एकताको प्रार्थना गरि आज साझ घर(घरमा दिप प्रज्जवलन गर्न पनि हुमागाईले कांग्रेसीजनमा अपिल गरे । 

उनले यो संकटको घडीमा हामी सबैले संयम भएर कोही कसैमाथी मानमर्दन हुनेगरी अशिष्ट र भद्दा गाली गलौज गर्नु नहुनेमा जोड दिए। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले बाटो बिराएकालाई सहि बाटोमा हिडाउने कार्यमा कांग्रेसले अगुवाई गगर्नुपर्ने प्रसङ्ग स्मरण गर्दै हुमागाईले सामाजिक संजाल र ब्यक्तिगत रुपमा गाली–गलौज र अमर्यादित भाषामा प्रस्तुत हुने मान्छेले नेपाली कांग्रेसको नीति र सिद्धान्त र पीपीको बिचारलाई बुझ्न नसकेको भनाई राखे  । 

नेपाली कांग्रेसका नेताहरु जो जता लागेपनि हामीहरु बीपीले रचना गरेको चारतारे झण्डा र रुख चिन्ह जहाँ हुन्छ, त्यही रहने पनि प्रष्ट पारे । नेपाली कांग्रेस बिर्तामोडका सभापति भोजराज सिटौलाले जेल, नेल, यातना र निर्वासन भोगेका लाखौं लाख कार्यकर्तालाई निरास बनाउने कार्यमा लाग्ने जोसुकै भएपनि जनता र कार्यकर्ताले तिनलाई स्वीकार गर्न नसक्ने उनले बताए। 

काठमाडौं गएका साथीहरुले पार्टी एक नबनाई, फुटाएर जिल्ला आएर कसरी मुख देखाउनु भन्ने प्रश्न गर्दै गम्भीर भएर सोच्न अनुरोध गरे । देश र जनताले सग्लो कांग्रेस चाहेको बताउदै सिटौलाले जनता र कार्यकर्ताको भावनासँग खेलबाड नगर्न पद चाहिनेहरुलाई  नरम भाषामा सम्झाएका थिए ।