झापा ।
भाक्का दिवसमा सम्बोधन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशव्द प्रयोग गरेका अभय राजवंशीसहित तीनजना पक्राउ परेका छन् । राजवंशीलाई गएराति १०ः३० बजे बिर्तामोड–१ स्थित नाइटलाईफ डान्सबारबाट प्रहरीले पक्राउ परेको हो । कनकाई नगरपालिका–९ का ४४ वर्षीय अभय राजवंशीसहित नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड–१ का ४१ वर्षीय रमेश राजवंशीलाई पक्राउ गरेको हो ।
गत पुष २९ गते राजवंशी समाज विकास समितिको नाममा राजवंशीले डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस मनाउने क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशव्द प्रयोग गरेका थिए । त्यस विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाको च.न. ६१६५ मिति २०८२/०९/३०गतेको पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले डान्सबारमा रहेका अभयलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिने क्रममा नबिना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र ब्यवहार गरेको भन्दै उनीहरुलाई पनि पक्राउ गरेको थियो । तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी लगिएकोमा अभय र नबिनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो । रमेशलाई इप्रका बिर्तामोडमा नै राखिएको छ ।
यसैबीच राति १२ः३५ बजे नबिना राजवंशीलाई आवश्यक परेको बखत उपस्थित हुने गरी उनका श्रीमान भरत राजवंशीको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।


















