दमक ।
अमेरिकामा रहेका झापालीहरूको सक्रिय सामाजिक संस्था झापाली समाज युएसएको आयोजना र झापा विकास मञ्च काठमाडौँको संयोजनमा झापाका सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
शनिबार कन्काई–माई पश्चिम दमकसम्मका सामुदायिक विद्यालयबाट छनोट गरिएका २६ जना विद्यार्थीलाई जनही १५ हजारका दरले नगदै छात्रवृत्ति प्रदान गरिएको हो । दमकस्थित सनराइज मोडल स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष तथा झापाली समाज युएसएका पूर्व अध्यक्ष मुकुन्द ढुङ्गानाले संस्थाको कामको प्रशंसा गरे । झापाली समाज युएसएकी महासचिव सिता पाण्डेका अनुसार विदेशमा श्रम गरेर आर्जन गरिएको आम्दानीको केही अंश आफ्नै जन्मथलोका विद्यार्थीहरूको शिक्षामा लगानी गर्ने उद्देश्यले केही वर्षदेखि नियमित रूपमा आर्थिक सहयोग संकलन गर्दै झापामा छात्रवृत्ति वितरण गरिदै आएको हो ।
झापा विकास मञ्चका उपाध्यक्ष रामनाथ मैनालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमकका सभापति प्रकाश बुढाथोकी, सनराईज मोडल स्कूलका प्रिन्सिपल जनार्दनप्रसाद मैनाली, नेपाल शिक्षक संघका बद्री कार्की लगायतले मन्तब्य राखेका थिए ।
नरेन्द्र जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी रितिक कार्की विगत तीन वर्षदेखि निरन्तर छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । झापाली समाज युएसएको यो पहलले आफ्नो शिक्षामा सकारात्मक प्रभाव पारेको र अध्ययनमा पहुँच बढाउँदै जीवनस्तर उकास्न सहयोग पुगेको रितिक बताउँछन् । यसैगरी, आर्थिक अभावका कारण छोराछोरीलाई राम्रो शिक्षा दिन कठिनाइ भइरहेको अवस्थामा यस्तो सहयोग अभिभावकका लागि ठूलो राहत भएको अभिभावक कमलप्रसाद सापकोटाको भनाइ छ ।
अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष समेत रहेकी पाण्डेले आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता गरिन् । कन्काई–माई पूर्वका अन्य विद्यालयका विद्यार्थीहरूलाई भने आइतबार बिर्तामोडमा छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । झापाली समाज युएसएले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
छात्रबृत्ति दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरीएको थियो । बिर्तामोडमा श्रीजय ड्रिमल्याण्ड पार्कमा मेचीनगर, भद्रपुर, शिवसताक्षी, कन्काई, बिर्तामोड, अर्नुनधारा नगरपालिका तथा बाह्रदशी, कचनकवल, झापा, हल्दीबारी र बुद्धशान्ति गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थिलाई छात्रबृत्ति वितरण गरिने जनाइएको छ ।
छात्रवृत्ति रकम सहयोग गर्नेहरुः
अमेरिका निवासी यमुना भट्टराई, डा. शम्भु ढुङ्गाना, डा. दिनेश मैनाली, मुकुन्द ढुङ्गाना, मोहन उप्रेती, प्रसन्न संग्रैला, नबिन पोख्रेल, निलम बिमली, बिकास उप्रेती, कृति खाती, डा. आलोक उप्रेती, , महेन्द्र चम्लागाईं कतार, केदार न्यौपाने स्विटजरल्याण्ड, दिनेश पोख्रेल अष्ट्रेलिया,दिपक ओली इजरायल, स्व. मेघराज नेपाल जापान, डा. आनन्द श्रेष्ठ नेपाल, हरि उप्रेती नेपाल, झापाली समाज टेक्सास च्याप्टर यु.एस.ए., झापाली समाज साउदी अरब, र झापाली समाज यु .यस. ए.ले रकम प्रदान गरेका हुन् ।


















