विर्तामोड । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले निर्वाचन आचारसंहिता पालना गरेर उम्मेद्वारको मनोनयन दर्ता एवं चुनावी कार्यक्रमहरुमा सहभागी हुन कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गरेका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्तालाई ब्यवस्थित एवं मर्यादित बनाउन नेपाली कांग्रेसलाई २ बजेको समय उपलब्ध गराएको जानकारी दिदै सभापति थेवेले सो समयमा सम्बन्धित क्षेत्रमा स्थापना भएका निर्वाचन कार्यालयमा उपस्थित हुन कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गरेका हुन् । निर्वाचन आयोगले माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम तय गरेको छ ।

नेपाली कांग्रेस झापाका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुको संयुक्त बैठकमा सभापतिको आशनबाट बोल्दै नेता थेवेले मुलुकमा लोकतान्त्रिक शासन पद्धति र राजनीतिक स्थायित्वका लागि रुख चुनावचिन्ह लिएर निर्वाचनमा होमिएका उम्मेद्वारलाई एकजुट भई अत्यधिक बहुमतले जिताउन आम मतदातालाई अपिल गरेका छन् । 

देशको संविधान र लोकतन्त्रको रक्षा, जनजीविका, बिकास र स्थिरतासहितको समुन्नतिको यात्रालाई सुनिश्चित गर्न नेपाली कांग्रेसको बिजय अपरिहार्य भएको बताउँदै सभापति थेवेले राष्ट्र जोगाउन, मेलमिलापसहितको  सुदृढ समाजको सिर्जना गर्न सबै लोकतन्त्रवादी, देशभक्त नेपालीले सदभावसहितको सहयोग गर्ने बिश्वास ब्यक्त गरेका छन् । 

निर्वाचन आयोगले विभिन्न चरणमा राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलका क्रममा भएका अन्तरसंवादहरुको चर्चा गर्दै उनले आचारसंहिताको पालना नगरे उम्मेद्वारी खारेजसम्मको ब्यवस्था रहेको चर्चा गर्दै आचारसंहिता पालनामा जोड दिएका हुन् । 

उम्मेद्वारले चुनाव प्रचारप्रसारका क्रममा हुने खर्चमा मितब्ययिता अपनाउन अपिल गर्दै उनले सामाजिक संजाल प्रयोग गर्दा साबधानी अपनाउन पनि आग्रह गरेका छन् । निर्वाचन आयोगले यसपटक १५ दिनमात्रै चुनावी प्रचार–प्रसार गर्न पाइने ब्यवस्था गरेको छ । जस अन्तर्गत माघ ६ गते उम्मेद्वारको मनोनयन दर्तापछि माघ ९ गते आयोगले चुनावचिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ४ गतेदेखि १७ गतेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने निर्वाचन कार्यतालिका आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।