झापा ।
नेपाली कामदारका समस्या समाधानका लागि इपिएस कोरिया शाखाले छिट्टै नै नेपालबाट उच्चस्तरीय टोली दक्षिण कोरिया जान लागेको जनाएको छ । गत पुस १८ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलको निष्कर्ष कार्यान्वयनमा गएको र त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्ने उद्देश्य अनुसार उच्चस्तरीय टोली कोरिया जान लागेको शाखाले जनाएको हो ।
भाषा परीक्षा तथा सीप तालिम उत्तीर्णहरूको नाम एचआरडीको रोस्टरमा नचढेको कोरियाली रोजगारदाताले कामदार नलैजाने खतरा बढेको भन्दै युवाहरू मंगलबारदेखि पुनः आन्दोलनमा उत्रिने तयारीमा छन् । शाखाले विभिन्न माग राखेका पक्षहरूलाई संयमित रहेर आन्दोलनका कार्यक्रमहरू नगरी प्रतीक्षा गर्न आग्रह गरेको छ ।
शाखाका निर्देशक टीकाराम ढकालले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणाली सम्झौता भएपश्चात निरन्तर रूपमा नेपाली कामदार गएको र चालु आर्थिक वर्षको पुस मसान्तसम्म विभिन्न क्षेत्रमा गरी ४ हजार ५ सय ७ जना नेपाली श्रमिक दक्षिण कोरिया गएको बताएका छन् ।
गत पुस १८ गते आन्दोलन पक्षका प्रतिनिधिहरू र श्रम मन्त्रालयको टिमबीच भएको सहमति अनुसार नेपाल सरकारबाट कोरियामा समस्या समाधानका लागि कूटनीतिक पहल भई छानबिन समितिको प्रतिवेदन अन्तिम चरणमा पुगेको शाखाले जनाएको छ । नेपाली प्रतिनिधिमण्डल दक्षिण कोरिया जानुअघि आन्दोलनमा उत्रिएकाहरूसँग पुनः छलफल गर्ने भन्दै शाखाले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रतिनिधिमूलक ढंगबाट बढीमा १० जनाको नाम पठाउन भनेको छ ।
करिब दुई वर्षदेखि रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका युवाहरू केही दिनअघि ललितपुरको ग्वार्कोस्थित इपिएस कार्यालय घेराउ गर्न पुगेका थिए ।


















