झापा l
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले उम्मेदवारी दर्ता गराएकी छन् ।

यसअघि समानुपातिकतर्फबाट सांसद बनेकी डाँगी यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिएकी हुन् ।
 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको ‘होम ग्राउण्ड’ मानिने निर्वाचन क्षेत्र झापा–१ मा रास्वपाको यो इन्ट्रीले चुनावी समीकरण थप रोचक बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर १ मा डाँगीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।  निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार डाँगीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन् ।
डाँगीको उम्मेदवारी दर्तामा रास्वपाबाट उम्मेदवारका आकांक्षी प्रेमराज घिमिरे प्रस्तावक र असिम दाहाल समर्थक रहेका छन् । पार्टीका स्थानीय नेता–कार्यकर्ता र समर्थकको उपस्थितिमा मनोनयन दर्ता भएपछि झापा–१ मा रास्वपाको चुनावी अभियान औपचारिक रूपमा सुरु भएको जनाइएको छ ।
यसअघि बिघटित प्रतिनिधिसभामा कान्छी सांसदको रूपमा उनी परिचित थिइन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेर संसदमा प्रवेश गरेकी थिइन् ।

यसपटक भने डाँगी प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दर्ता गराएर जनताको प्रत्यक्ष मतबाट संसद पुग्ने प्रयासमा छिन् । उनले युवा मुद्दा, शिक्षा, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने बताउँदै झापा–१ का मतदाताबाट साथ र विश्वासको अपेक्षा गरेकी छन् ।

झापा–१ नेपाली कांग्रेसका महामन्त्री शर्माको निर्वाचन क्षेत्रका रूपमा परिचित रहँदै आएको हो । तर यसपटक शर्मा स्वयं प्रतिनिधिसभा सदस्यमा नउठी पार्टी उपसभापति केशवराज पाण्डेलाई मैदान खुला गरिदिएका छन् । कांग्रेसको यो निर्णयसँगै झापा–१ मा प्रतिस्पर्धाको नयाँ राजनीतिक समीकरण बनेको छ ।

यही क्षेत्रमा रास्वपाकी नेतृ डाँगीको इन्ट्री भएपछि चुनावी प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ । नयाँ दलको उम्मेदवारका रूपमा डाँगीको उपस्थितिले परम्परागत दलहरूको मताधारमा समेत प्रभाव पार्न सक्ने सम्भावना छ ।
मनोनयन दर्ता प्रक्रिया जारी रहेसँगै झापा–१ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की  चुनावी प्रतिष्पर्धामा रहेका छन् ।