झापा ।
पुस महिनामा म्यानपावर कम्पनीले केवल १० मुलुकमा मात्रै कामदार पठाउन सकेका छन् । विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले नेपाली कामदारका लागि डिमाण्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
पुस महिनामा १ सय ५ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीले १० देशमा मात्रै कामदार पठाउन सकेका छन् । पुस महिनामा म्यानपावर कम्पनीमार्फत २१ हजार ७ सय २३ जना गएका छन् । गत वर्ष पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार ३ सय १६ जना गएका थिए ।
यस वर्ष पुस महिनामा नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा ९ हजार २ सय ५३ जना, श्रम स्वीकृति नवीकरणमार्फत ३० हजार ८ सय ९ जना तथा सरकारले पठाउने दक्षिण कोरिया, बेलायत तथा इजरायलमा ७ सय २१ जनाको श्रम स्वीकृति भएको छ । वैधानिकीकरणको माध्यमबाट ५३ जना गएका छन् ।
पुस महिनामा म्यानपावर कम्पनीमार्फत सबैभन्दा धेरै साउदी अरेबिया ७ हजार १ सय ७८ जना, दोस्रोमा रहेकोे कतारमा ३ हजार ८ सय ४, मलेसियामा ३ हजार ५ सय ७७, कुवेतमा २ हजार ३ सय ६८, युएईमा १ हजार ७ सय ६५, ओमानमा १ हजार १ सय २२, बहराइनमा ६ सय ६२, साइप्रसमा ३ सय ९८, मरिससमा ३ सय ६०, जोर्डन २ सय ८०, जापानमा २ सय ६ र माल्दिभ्समा ३ जना गएका छन् ।
गत वर्ष पुसमा २१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएको युएईमा यस वर्ष ९ हजार ५ सय १७ जना मात्र गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १ हजार ७ सय ६५ जना गएका छन् । गत वर्ष पुसमा म्यानपावर कम्पनीमार्फत १४ हजार १ सय ७८ जना गएका थिए । यस वर्ष पुसमा युएई कम जानुमा युएई दूतावासबाट प्रहरी रिपोर्ट प्रमाणीकरण अनिवार्य गरिएको परिणाम भएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
यसैगरी पुस महिनामा ४० म्यानपावर कम्पनीले एक सय र सोभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । त्यसमध्ये ५ सय ३५ जना कामदार पठाएर एसओएस म्यानपावर सर्भिस प्रालि– सूचीको शीर्ष स्थानमा रहेको छ । ३ सय ६४ जना कामदार पठाएको गल्फ म्यानपावर सर्भिसेस प्रालि दोस्रो र ३ सय ५१ जना पठाएको इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि सूचीको तेस्रो स्थानमा रहेको छ ।

















