झापा ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्।
गएराति धारिलो हतियार प्रयोग गरी भएको आक्रमणमा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आक्रमणमा परी मृतक सुमित्रा देवीका पति ५० वर्षीय जगरुप मण्डल र बुहारी २८ वर्षीया मनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
मध्यराति १२ बजेपछि घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमाछोराको हत्या गरेको हो।
हालसम्म आक्रमणकारीको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान तथा अभियुक्तको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।


















