झापा । 

मोटरसाइकल दुर्घटनामा घाइते झापा बिर्तामोड–७ गरामनीकी कल्पना भण्डारीको मृत्यु भएको छ । तीन दिनअघि मेचीनगर–७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको माटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

गत माघ ११ गते दिउँसो १ः३० बजे दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन् । 

टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो । आज बिहान १०ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ का ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।