झापा । 

गत मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । आगामी सोमबार फेरि अर्को प्रणाली आउने र पानी पर्ने मौसमविदको अनुमान छ । आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भएपनि धेरै ठाउँको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको थियो । मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँमा वर्षा र हिमपात भएको छ । पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ । 

आज बिहान तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा वर्षा र हिमपातको सम्भावना छ । लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसान उत्साहित भएका छन् ।