हल्दीबारी ।
झापा जिल्लाको हल्दीबारी गाउँपालिका–२ मा अवस्थित श्री नव सृजना आधारभूत विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माण सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्य माङयुङ, पूर्व अध्यक्ष गोपालकुमार मैनाली तथा पूर्व विद्यार्थी प्रकाश बेगा लिम्बू सहित पूर्वविद्यार्थीहरूको विशेष पहलमा तीन लाख ९८ हजार ४६६ रुपैयाँको लागतमा ९१ जना दाताहरूको सहयोगबाट उक्त मन्दिर निर्माण गरिएको हो।
मन्दिर निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपालकुमार मैनालीको अध्यक्षतामा सरस्वती मन्दिर निर्माण समिति गठन गरी कार्य अघि बढाइएको थियो। निर्माणका लागि बिद्यालयकै नाममा बैंक खाता सञ्चालन गरी क्युआर कोड मार्फत देश तथा बिदेशमा रहेका पूर्व विद्यार्थी, शिक्षा–प्रेमी र इच्छुक समाजसेवीहरूबाट नगद तथा जिन्सी सहयोग संकलन गरिएको विद्यालयका प्रधानाध्यापक भीम दाहालले जानकारी दिए ।
उनका अनुसार जम्मा ४ लाख ७६ हजार ८९ रुपैयाँ २५ पैसा नगद संकलन भएकोमा ३ लाख ९८ हजार ४६६ रुपैयाँ खर्च भई ७७ हजार ६२३ रुपैयाँ २५ पैसा बचत रहेको छ। गत वर्षको वसन्त पञ्चमीका अवसरमा बिर्तामोड–४ निवासी समाजसेवी खगेन्द्रप्रसाद मैनालीद्वारा शिलान्यास गरिएको मन्दिर यस वर्षको वसन्त पञ्चमीको पावन अवसरमा समुद्घाटन तथा दानवीर दाताहरूको सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्गदेन प्रमुख आतिथ्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्य माङयुङ, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) विशिष्ट आतिथ्य हल्दीवारी– २ का वडाध्यक्ष सुकलाल राजवंशी विशेष आतिथ्यका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा विभिन्न समयमा बिद्यालयलाई उल्लेखनीय योगदान पुर्याउने दानवीर महानुभावहरूलाई विशेष सम्मान गरिएको थियो। सम्मानित दाताहरूमा मूर्ति दाता खगेन्द्रप्रसाद मैनाली तथा मन्दिरा मैनाली (बिर्तामोड–४), जग्गादाता होमनाथ दाहाल तथा तुलसा दाहाल (१० धुर), गोपाल दाहाल तथा तारा दाहाल (८.५ धुर), नरेन्द्र माक्रिहाङ राई तथा श्रीमती सङ्गिता फत्र (४ धुर), अक्षयकोष दाता नरपति (रामप्रसाद) उप्रेती तथा द्रौपदा उप्रेती नगद ५१ हजार ५ सय ५५रुपैयाँ, डम्बरबहादुर माङयुङ स्मृति छात्रवृत्ति अक्षयकोष धनराज माङयुङ (रु १,०८,०००), कौशी हाङछेन राई स्मृति प्रतिष्ठान (रु १,००,०००), चन्द्रबहादुर माक्रिहाङ राई स्मृति प्रतिष्ठान (रु ३,००,०००) तथा विद्यालय प्रवेशद्वार निर्माण सहयोगकर्ता भगवतीप्रसाद बेगा लगायत रहेका छन्।
कार्यक्रम सरस्वती माताको आराधना, शिक्षा विकासप्रतिको सामूहिक प्रतिबद्धता तथा विद्यालय–समुदायबीचको सशक्त सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। पछिल्लो समय हल्दीबारी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा सरस्वती मन्दिर निर्माणको कार्यले तीव्रता पाएको छ। यसअघि रामेश्वर आबि र अहिले पञ्चायत माबिमा समेत मन्दिर निमार्ण भइरहेको छ।


















