भद्रपुर ।
झापाको भद्रपुरमा जारी ‘झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव–२०८२’ स्थगित गरिएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा माघ ७ गतेदेखि सञ्चालित महोत्सव ६ दिन अगाडि नै स्थगित भएको हो । झापा उद्योग वाणिज्य संघले संघको आज कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव स्थगित गरिएको जनाएको छ ।
संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव आयोजक मूल समितिका संयोजक राजकुमार राईले ‘प्रहरीको ज्यादती’का कारण समय अगावै महोत्सव स्थगित गर्नुपरेको बताए । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर महोत्सव सञ्चालन गरिए पनि प्रहरी–प्रशासनकै कारण महोत्सव स्थगित गर्नुपर्ने उनको भनाइ छ ।
‘स्वीकृतिपत्रमा समयको कुनै सीमा नतोकेको जिल्ला प्रशासन कार्यालय झापाले यो महोत्सवलाई केवल मेलाको दृष्टिकोणबाट मात्र हेर्यो’, उनले भने । गतमा माघ १३ गते संघलाई विभिन्न सर्तसहित बेलुका ७ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न पत्र पठाएको उनले बताए ।
पत्रको विषयमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डिराज ढकालसहित जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायीको प्रतिनिधि मण्डलले माघ १४ गते जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्रसहित न्यूनतम समय बेलुकी १० बजेसम्म सञ्चालन गर्न दिनुपर्ने माग राखेको उनले बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले बेलुका ९ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न निर्देशन दिएको थियो ।
समयको विषयलाई लिएर प्रहरीले साउण्ड सिस्टमको तार तानिदिने, पिङ चढ्दै गरेका सर्वसाधारणलाई झार्ने जस्ता क्रियाकलापका कारण महोत्सवलाई सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी प्रशासनकै त्रासका महोत्सव सञ्चालन गर्न चुनौती देखापरेकाले संघले महोत्सव स्थगित गरेको जनाएको छ ।
भद्रपुरमा एक दशकपछि संघले आयोजना गरेको महोत्सवलाई प्रहरी प्रशासनले निर्वाचन आचार–संहिताको अस्वाभाविक कारण उल्लेख गर्दै देखाएको रवैयाबाट अझै पनि सहज ढङ्गबाट उद्योग–व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्न नसकेको स्पष्ट भएको संघको ठहर छ ।
महोत्सव आयोजनाका लागि विभिन्न पक्षबाट १ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको र महोत्सवबाट ठूलो घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भएको संघले जनाएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने, स्थानीय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने, मुलुकको पर्यटन प्रवर्धनमा टेवा पु¥याउने यस्ता महोत्सवलाई आगामी दिनमा यस किसिमको अवरोध कहिँ कतैबाट नहोस् भन्ने आग्रह संघले गरेको छ ।
महोत्सवको संरक्षकको रुपमा भद्रपुर नगरपालिका रहेको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले विभिन्न बहानामा महोत्सवलाई नोक्सानी पु¥याउने काम गरिएको बताए । प्रशासनले छलफलको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमाउनले जोड दिए । प्रहरी–प्रशासनको पक्षबाट हुने यस्ता कार्यले समाजमा नकारात्मक सन्देश प्रवाह हुने उनी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकालले प्रशासनले समय निर्धारण गरिसकेको अवस्थामा समय अगावै अवरोध पुर्याउनु निन्दनीय भएको बताए । प्रमुख जिल्ला अधिकारी र झापा प्रहरी प्रमुखलाई उनले तत्काल समस्याको समाधान गर्न आग्रह गरे । भद्रपुर नगरपालिका–८ का वडा अध्यक्ष गौरव सुब्बा ९मनोज०ले दशकौंपछि सञ्चालन भएको महोत्सव रोकिनु दुःखद भएको बताए । प्रहरी प्रशासनबाट भएको यस किसिमको कार्यले आफूहरू आतंकित भएको उनको भनाइ छ ।
नेकपा नेता डिलीराम घिमिरे (हिक्मत) ले महोत्सवमा कुनै विकृति वा गलत क्रियाकलाप भए अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिँदै नियमसम्मत भएको महोत्सवलाई रोक्न नमिल्ने धारणा राखे ।
यता, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले कृषि र औद्योगिक उत्पादनको स्टल राख्नेगरी महोत्सवको अनुमति प्रदान गरिएको बताए । उनले महोत्सवमा हाउजी बिंगोजस्ता जुवाजन्य खेल खेलाइएको तथा ध्वनी प्रदुषण भएको जनगुनासो आउन थालेपछि ७ बजेसम्म महोत्सव सञ्चालन गर्न अनुमति प्रदान गरिएको बताए।
‘हाउजी बिंगो र ध्वनी प्रदुषण नगर्ने शर्तमा ७ बजेबाट ९ बजेसम्म महोत्सव सञ्चालन गर्न दिइएको हो’, उनले भने ‘माघ ४ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू भइसकेकाले पनि समयमै महोत्वस सम्पन्न गर्न भनेका हौं ।’


















