झापा ।
झापाको गौरादह नगरपालिका–४ रामचन्द्रे खोलाको पुलस्थित भित्री सडक खण्डमा सोमवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् ।
आइतवार करिब ७ः२० बजे गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ त. ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोरङ रतुवामाई–८ का ३८ वर्षीया स्वस्तिका मर्डी गम्भीर घाइते भई उपचारको लागि दमकस्थित निम्स अस्पतालमा लगिएको र ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
अन्य घाइतेहरुमा ५० वर्षीया मुनीमती सतार, १५ वर्षीया सन्तोषी किस्कु, ६० वर्षीय एतोबार मुर्मु, २३ वर्षीया बिनिता मर्डी, २० वर्षीया सरिता मर्डी, ३ वर्षीय गंगाराम मर्डी, ८ वर्षीया मेलिना मर्डी, ३० वर्षीया शिला मर्डी, शिवसताक्षी–९ बैगुनधुराका १७ बर्षीय बिजय वास्की, मोरङको रतुवामाई–८ का २६ बर्षीया मिना मर्डी, १२ बर्षीया सम्झना मर्डी रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक मोरङ रतुवामाई–५ बस्ने २५ वर्षीय चमलाल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिई महारानीझोडा प्रहरी चौकीमा राखेको छ। ट्याक्टर भने घटनास्थलमै रहेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















