काँकरभिट्टा । 

प्रेस क्लब मेचीनगरको ११ औँ वार्षिक साधारण बुधबार काँकरभिट्टा क्याम्पसको सभा हलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा मेचीनगर नगर प्रमुख गोपाचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले पत्रकारिताको माध्यमबाट समाजलाई सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । 

पत्रकारिता समाजको ऐना भएको भन्दै उनले सही, तथ्य सूचनाबाट समाजले न्यायको अनुभूति गर्न सक्ने स्पष्ट पारे । ‘आम जनता पत्रकारप्रति आशावादी देखिएका हुन्छन्,’ उनले भने, ‘पहिले पहिले गाउँमा पत्रकार आउँदा मानिसहरुले न्यायको अनुभूति गर्दथे । त्यसरी नै विश्वास कायम राख्न सक्नु पर्दछ ।’

नगर प्रमुख बुढाथोकीले नगरपालिकाका काम कारवाहीप्रति सदैव खबरदारी गर्न आग्रह पनि गरे । उनले नगरका हरेक विषयवस्तुलाई उठाएर सकारात्मक रुपमा प्रचार गर्न सके नगर समृद्ध बन्नेमा उनको जोड थियो । 

क्लबका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत तथा सचिव प्रविण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल पत्रकार महासंघ झापा कोषाध्यक्ष मुक्ति पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रयि परिषद सदस्य अर्जुन कार्की, कान्तिपुर कोशी प्रदेश प्रमुख पर्वत पोर्तेल, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतको आतिथ्यता रहेको थियो । 

साधारण सभाको बन्द सत्रले आगामी योजनाका बारेमा छलफल गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बन्द सत्रमा उठेका विषयहरुलाई प्रतिवेदन लेखन समितिले लिपिबद्ध गर्दै सभा सम्पन्न भएको थियो । प्रतिवेदन लेखन समितिको संयोजकमा संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला तथा सदस्यमा झुलन रेग्मी र युवराज आचार्य रहेका थिए ।