बिर्तामोड ।
नेपाल अर्थोपेडिक एशोसिएसनको ३१ औं वार्षिक सम्मेलन तथा अर्थोकोन २०२६ को कार्यक्रम पहिलोपटक कोशी प्रदेशस्थित झापा जिल्लामा आयोजना हुने भएको छ । अर्थोकोन २०२६ आयोजक समितिले आज( बुधवार) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीको बिषयमा जानकारी दिइएको हो ।
पहिलो पटक झापाको बिर्तामोडमा हार्डजोर्नी विशेषज्ञ चिकित्सकहरुको चार दिने अर्थात भोलि माघ २९ गतेदेखि फागुन ३ गतेसम्म हुने कार्यक्रममा १०० भन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी हुनेछनु भने नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहने अर्थकोन २०२६ आयोजक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए ।
डा. मैनालीका अनुसार माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालहरूमा प्रि कन्फरेन्स वर्कसप सञ्चालन गरिनेछ भने फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको छ ।
झापा जिल्लाको भौगोलिक अवस्था भुटान, बङ्गलादेश र भारतसँग मिल्दोजुल्दो भएका कारण पनि एनओएको अन्तर्राष्ट्रिय सम्बन्ध ती देशहरुसँग अत्यन्त सुमधुर तथा कसिलो सम्बन्ध रहेको डा. प्रेमबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
कार्यक्रमका लागि रकम विभित्र स्रोतहरुबाट जुटाउने प्रयास गरिएको बताइएको छ । कार्यक्रमका लागि कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता भएको साथै औषधि कम्पनीहरु, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीहरूबाट सौजन्य जुटाइने बताइएको छ । पहिलोपटक आयोजना गरिएको अर्थोकोन २०२६ को सञ्चालनका लागि स्थानीय संघ संस्था एवं व्यक्तिहरूले पनि साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रम उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्य रहने को निमित्त अनुरोध गरिएको छ भने अन्य सुरक्षा प्रमुखहरू एवं झापामा सञ्चालित अस्पतालका सञ्चालक एवं मेडिकल सुपरिटेन्डेन्टहरूको आतिथ्य रहने अर्थोकोन २०२६ आयोजक समितिका महासचिव रूपेशजंग बेलबासेले बताए । डा. नागमणि सिंहले पनि चिकित्सकहरुको यो महाकुम्भलाई सफल बनाउन सवैेलाई आग्रह गरेका छन् ।


















