बिर्तामोड। 

मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो ।

उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो ।खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एकथान मोटरसाइकल पाए । बेष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, बेष्ट कोच मछिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट  बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एकथान स्कुटर पाइन् । खेलको ३१ औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो । मछिन्द्रका स्ट्राइकर प्रदिप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोष्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भएको थियो ।

एपिएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मछिन्द्रले अर्को गोल पहिलो हाफको ४५ औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मछिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भएका थिए । खेलको ८३ औँ मिनेटमा मछिन्द्रले अर्को गोल थप्यो । मछिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भए ।

पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्र्रमाथि दबाब दिएको थियो । खेलको ८२ औँ मिनेटमा एपिएफले एक गोल फर्कायो । विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दिपेश धिमालले सुन्दर गोल गरे ।

खेलको ७६ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित भयो । डिफेण्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजकको टिम झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी भुटान र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।