झापा ।
एक समूहले प्रहरी चौकी बिर्ताबजार तोडफोड गरेको छ । शुक्रवार दिनको १ः३० बजेतिर बिर्तामोड–३ को काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पार्टी प्यालेसका सञ्चालक बिर्तामोड–३ का २९ बर्षीय आकाश खड्का, सोही पार्टी प्यालेसमा काम गर्दै आएको ४० बर्षीय कोमल शिवाकोटी, अर्जुनधारा–९ का २७ बर्षीय बिपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेका थिए ।
प्रहरीले कुटपिट गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेको थियो । सुजन राई पक्षका करिव ३५/४० जनाको संख्यामा उत्तेजित भीड चौकीमा आएर तोडफोड गरेका हुन् । उनीहरूले तोडफोड गर्दा प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको कम्पाउण्डभित्र रहेको कम्प्युटर टेवल समेत तोडफोड गरेर क्षति पुर्याएका छन् ।
कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । घाइते राईको बीएण्डसी अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी तोडफोडमा संलग्न अन्य फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।


















