झापा । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र  जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।