भद्रपुर। 

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई सम्मान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले बिहीबार भद्रपुरमा एक कार्यक्रमका बीच कदर पत्रसहित महासंघ झापालाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका तर्फबाट अध्यक्ष एकराज गिरीले सम्मान ग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले महासंघ झापालाई कदर पत्र, खादा र पुष्पगुच्छासहित सम्मान गरेका थिए । झापाका सबै निर्वाचन क्षेत्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन पत्रकार महासंघबाट महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै सम्मान गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए ।

पत्रकार महासंघ झापा शाखाले निर्वाचनको पूर्व तयारी र निर्वाचनका सन्दर्भमा निर्वाह गरेको समन्वयकारी भूमिका तथा झापाका सञ्चारकर्मी तथा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो ।

झापाली सञ्चार क्षेत्रको साझा छाता संस्थाको रुपमा महासंघलाई सम्मान गरिएको बताइएको छ । महासंघ झापाका अध्यक्ष गिरीले यो सम्मान महासंघको मात्र नभएर निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै सञ्चारकर्मी र सञ्चारमाध्यमको साझा सम्मान भएको बताए ।

महासंघ अध्यक्ष गिरीले झापामा विभिन्न शंकाका वीच निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, कर्मचारी लगायत सबैको टिमवर्क र कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।