भद्रपुर ।
नेपालको कला, भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका पार्टी सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ। भियतनामको द नाङ फाइन आर्ट्स एसोसिएसनले २८ मार्च २०२६ मा बा ना हिल्समा आयोजित विशेष कार्यक्रममा कल्पितलाई स्वागतसहित सम्मान गरेको हो।
नाट्य रङ्गमञ्च, कला, भाषा, साहित्य तथा संस्कृतिको संरक्षणमा उनले खेलेको भूमिका तथा प्रतिष्ठानले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको एसोसिएसनले जनाएको छ। कल्पितले नेपालमा ‘एक इटा अभियान’ सञ्चालन गर्दै बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहित सुविधा सम्पन्न झापा नाटकघर निर्माणमा खेलेको भूमिका विशेष रूपमा प्रशंसनीय मानिएको छ। कोशी प्रदेशकै गौरवको रूपमा चिनिने झापा नाटकघरले नेपाली कला र संस्कृतिको पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
मलेसिया र भियतनामको एक साताको पारिवारिक भ्रमणमा रहनुभएका कल्पितले भ्रमणका क्रममा भियतनामले कला, साहित्य र पर्यटन प्रवर्द्धनमा पुर्याएको अन्तर्राष्ट्रिय योगदानको प्रशंसा गरे । उनले त्यहाँका कलाकारहरूसँग अन्तरसंवाद गर्दै नेपाली कला, साहित्य र संस्कृतिको परिचय गराउने अवसर पाएकोमा गर्व व्यक्त गरे । भ्रमण सम्पन्न गरी नेपाल फर्कने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा क्षितिज नाट्य प्रतिष्ठान नेपाल तथा नागरिक बचाउ दल नेपालका प्रतिनिधिहरूले उनलाई भव्य स्वागत गरेका थिए।
संक्षिप्त प्रतिक्रिया दिँदै कल्पितले भने ‘अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सम्मान केवल मेरो मात्र होइन, सम्पूर्ण झापा र नेपालकै सम्मान हो। यो सबैको सामूहिक प्रयासको परिणाम हो।’ उनले आगामी दिनमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ सशक्त बनाउने गरी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले कलाकार, प्रतिष्ठानका पदाधिकारी, नागरिक बचाउ दलका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै यो उपलब्धिलाई अझ विशेष बनाएकोमा आभार व्यक्त गरे ।
भियतनाममा फेब्रुअरी १७ देखि मार्च १७ सम्म मनाइएको नयाँ वर्ष २०२६ को अवसरमा उक्त सम्मान प्रदान गरिएको कलाकार संघ भियतनामले जनाएको छ। नेपाली कला र साहित्यप्रति भियतनामी कलाकारहरूको गहिरो रुचि रहेको पनि उनले बताएका छन् ।
कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष तथा कल्पितकी श्रीमती सुजता खतिवडाको समेत उपस्थिति रहेको थियो। झापाको भद्रपुर विमानस्थलमा स्वागतका क्रममा कल्पितले ‘१५ वटा पालिकाले चिन्न नसकेको झापा नाटकघरलाई भियतनामका कलाकारहरूले चिनेर सम्मान गरेको देख्दा भावुक भएको’ प्रतिक्रिया दिए। स्वागत कार्यक्रममाक्षितिज नाट्य प्रतिष्ठान नेपालका सञ्चालक राजकुमार भट्टराईसहित विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


















