झापा।
प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले आज (बिहीबार) बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो ।
शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शङ्का लागेर रोकेर जाँचगर्दा टेम्पोभित्र विभिन्न किसिमका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फेला परेको सामानमा सारी, कुर्था सुरुवाल, ढाका लगायतका कपडा रहेका छन् ।
अवैध रूपमा भन्सार छलेर करिब ५ लाख रुपियाँ बराबर कपडा ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ । मे.१ ह. ६३५५ नम्बरको टेम्पोको चालक सुबिन्द्र जोगी र मे. १ ह. ७२९४ नम्बरको चालक भमदल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















