बिर्तामोड । 

अलैंची प्रशोधनमा काम गर्ने श्रमिक महिलाहरुको स्वास्थ्यलाई लक्षित गरी झापाको बिर्तामोडमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ । 

नेपाल उद्यमशिल महिला संघ झापाको आयोजना साथै एनएमबी बैंक बिर्तामोडको आर्थिक सहयोग र मनमोहन सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा आज (शनिवार) स्वास्थ्य शिविर गरिएको हो ।  

नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एकराज गिरी, चेम्वर्स अफ कमर्स केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमली, सदस्य भीमा शिवाकोटी, अलैंची व्यवसायी महासंघका उपाध्यक्ष सुजितकुमार बंशल, एनएमवी बैंकका एरिया मेनेजर राजु निरौला, मनमोहन अस्पतालकी भेट्रन राधा न्यौपानेलगायतले स्वास्थ्य शिविरको सफताको शुभकामना दिएका थिए । 

महिलाहरुको स्वास्थ्य शिविरमा साथ र सहयोग गर्ने संघ संस्था तथा ब्यक्तित्वहरुलाई संघकी अध्यक्ष पार्वताले धन्यवाद दिएकी थिइन् । उनले शिविरमा महिलाहरुमा हुने सवै स्वास्थ्य समस्या परिक्षण गरेर संघको समन्वयमा उपचारमा समेत सहयोग गर्ने जानकारी दिइन् । स्वास्थ्य शिवरसँगै महिलाहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिने उनले बताइन् । 

स्वागत संघकी उपाध्यक्ष यशोदा प्रसाईले गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव चन्द्रकला रिजाल भट्टराईले गरेकी थिइन् । निःशुल्क स्वास्थ्य शिविरमा १०० बढी महिलाहरुको सहभागाीता रहेको थियो ।