झापा । 

झापाका अलग–अलग स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबाट पाँच जना पक्राउ परेका हुन् । 

झापा गाउँपालिका–४ चौधरीटोल बाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ति टोलीले बिहीवार दिनको ३ः३० बजे भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री शिवसताक्षी नगरपालिका–११ का ३१ बर्षीय मदन मिश्रलाई शंका लागेर चेक जाँच गर्दा उनले लगाएको सर्टको कलरमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर फेला परेको थियो । उनको साथबाट प्लाष्टिक बाहेक ३ ग्राम ८९ मिलीग्राम फेला पारी नियन्त्रणमा अनुसँधान भइरहेको छ।

यसैगरी साँझ ६ बजेको समयमा भद्रपुर  नगरपालिका–४ डाँगीबारीबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटीएको प्रहरी टोली र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको  टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जना पैदल यात्रीहरुलाई शंका लागेर चेकजाँच गर्दा  उनीहरुको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक ८ ग्राम ७५० मिलिग्राम फेला परेको थियो । 

पक्राउ पर्नेमा पाचँथरको फिदिम नगरपालिका–१ का २४ बर्षीय भिमराज खजुम, सोही स्थानका २९ बर्षीय राजमान राई र फिदिम–७  का २३ बर्षीय लक्ष्मण लिम्बु छन् । उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा  लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएर थप अनुसन्धान तथा कानुनि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । 

त्यस्तै बिहीवार साँझ ६ः३५ बजेको समयमा भद्रपुर–५ मेचीबिटबाट वडा प्रहरी कार्यालय  भद्रपुरबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका साईकल यात्री भद्रपुर–७ मेघा टोल  का २४ बर्षीय सुमन मुखियालाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनले चलाएको साईकलको सिटमुनी लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक ७ ग्राम ७६० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषध फेलापरेसँगै उनो साथमा रहेको नगद र सामाग्रीसहित  नियन्त्रणमा लिएर  वडा प्रहरी कार्यालयमा भद्रपुरमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।