झापा ।
सुकुम्बासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशंङ्कामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।
उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुम्बासी बस्तीको घर, टहरा हटाउँदै छ ।
पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।
यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र सुकुम्बासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन प्रहरी परिचालन भएपछि त्यहाँ बाँकी रहेका सुकुम्बासीहरु हताशमा देखिएका छन् ।
बिहान नै डोजर चलाउने चाल पाएपछि उनीहरुले बाँकी रहेका समानहरू धमाधम सारिरहेका छन् । प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।


















