झापा ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी केन्द्रीय अधिवेशन वैशाख २१ र २२ गते हुँदैछ । देशभरका उद्योगी–व्यवसायीको साझा छाता संगठन मानिने महासंघको नयाँ नेतृत्व चयनका लागि चासो बढिरहेका बेला झापाबाट बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले केन्द्रीय सदस्य (खुल्ला) पदमा सशक्त उम्मेदवारी दिएका छन् ।
पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट उठेको यो उम्मेदवारीलाई केवल व्यक्तिगत आकांक्षाका रूपमा नभई झापासहित समग्र कोशी कोशी प्रदेशका व्यवसायिक समुदायको प्रतिनिधित्वका रूपमा हेरिएको छ । त्यसैले न्यौपानेको पक्षमा मतदानका लागि झापासहित विभिन्न जिल्लाका व्यवसायीहरू एकजुट हुन थालेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले समेत सर्वसम्मत रूपमा उनको उम्मेदवारी सिफारिस गरिसकेको छ । स्थानीय व्यवसायीहरूका अनुसार संघमा लामो समयदेखि निरन्तर काम गर्दै आएका, व्यवसायीका समस्या बुझ्ने, सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने र संस्थागत नेतृत्व क्षमता देखाइसकेका कारण न्यौपानेप्रति विश्वास बढेको हो ।
को हुन् राजु न्यौपाने ?
राजु राजु न्यौपाने झापाको बिर्तामोड क्षेत्रका परिचित व्यवसायिक व्यक्तित्व हुन् । उनी अहिले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष छन् । संघमा उनको संस्थागत यात्रा भने धेरै अघिदेखि सुरु भएको हो ।
२०६७ देखि २०७० सालसम्म उनी कार्यसमिति सदस्यमा निर्वाचित भए । त्यसपछि २०७४ देखि २०७७ सम्म उद्योग उपाध्यक्षको जिम्मेवारी सम्हाले । २०७८ देखि २०८० सम्म वरिष्ठ उपाध्यक्षका रूपमा काम गरे । त्यसपछि २०८० फागुन १४ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुँदै २०८१ वैशाख ९ गतेदेखि तीनवर्षे कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।
यसरी हेर्दा न्यौपाने एकैचोटी नेतृत्वमा आएका व्यक्ति होइनन्, संघको आधार तहदेखि क्रमशः अनुभव बटुलेर शीर्ष जिम्मेवारीमा पुगेका नेता हुन् । यही कारण पनि उनलाई संगठनभित्र अनुभवी र परिपक्व नेतृत्वका रूपमा लिइन्छ ।
अध्यक्ष बनेपछि देखिएका नयाँ अभ्यास
न्यौपाने नेतृत्वमा बिर्तामोड उद्योग वाणिज्य संघले केही नयाँ र व्यवहारिक काम सुरु गरेको बताइन्छ । उनले पहिलो पटक व्यवसायी सदस्य राहत कोष स्थापना गर्ने कार्य अघि बढाए । व्यवसाय सञ्चालनका क्रममा दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक समस्यामा परेका सदस्यलाई राहत, क्षतिपूर्ति र सहानुभूति स्वरूप सहयोग गर्न कार्यविधिसहित राहत कोष बनाइएको हो । व्यवसायिक संस्थाले सदस्यको दुःखमा साथ दिनुपर्छ भन्ने सोचका कारण यो योजना ल्याइएको संघका पदाधिकारीहरू बताउँछन् ।
त्यस्तै, साना–ठूला व्यवसायीलाई एकै सूत्रमा बाँध्न बजार, टोल र मार्केटअनुसार विभिन्न उपसमिति गठन गर्ने अभियान चलाइयो । यसले संघलाई केवल निर्वाचनका बेला सक्रिय हुने संस्थाबाट दैनिक समस्यामा साथ दिने संरचनामा रूपान्तरण गर्न मद्दत पुगेको व्यवसायीहरूको भनाइ छ ।
वर्षायाममा बिर्तामोड बजारका पसलमा पानी पसेर व्यवसायीले समस्या झेल्दै आएका थिए । न्यौपानेकै पहलमा पम्पको प्रयोग गरी पानी निकासमा सहयोग गर्ने कार्यको थालनी भयो । सामान्य देखिए पनि प्रत्यक्ष राहत दिने यस्ता कामले व्यवसायीबीच नेतृत्वप्रति विश्वास बढाएको छ ।
समस्यामा अग्रपंक्तिमा उभिने नेतृत्व
न्यौपानेको अर्को विशेषता भनेको व्यवसायीका समस्या पर्दा अगाडि उभिने शैली हो । स्थानीय कर, राजस्व, घरबहाल, बजार व्यवस्थापन, प्रशासनिक झन्झट, विद्युत् समस्या, सडक पहुँच, पार्किङ, सुरक्षा जस्ता विषयमा उनी निरन्तर सक्रिय रहेको संघ निकट व्यवसायीहरू बताउँछन् ।
व्यवसायीका गुनासा सुन्ने, सम्बन्धित निकायसँग छलफल गर्ने, सामूहिक आवाज उठाउने र समाधान खोज्ने उनको कार्यशैलीका कारण धेरैले उनलाई “व्यवसायीका अभिभावक” का रूपमा चित्रण गर्छन् ।
गरामनी क्षेत्रका व्यवसायीलाई खानेपानी समस्या हुँदा समन्वय गरेर सार्वजनिक रुपमा खाने पानी जडान गराउनु पनि उनको नेतृत्वकालको उल्लेखनीय काम मानिन्छ ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
न्यौपाने केवल व्यापारिक मुद्दामा सीमित छैनन् भन्ने धारणा पनि बनेको छ । सरसफाइ, हरियाली, स्वास्थ्य शिविर, ट्राफिक सचेतना, सार्वजनिक सेवा, महिला तथा युवा उद्यमशीलता जस्ता क्षेत्रमा पनि उनले प्राथमिकता दिएका छन् ।
“हाम्रो बिर्तामोड, राम्रो बिर्तामोड” भन्ने नारालाई व्यवहारमा उतार्न नगर क्षेत्रमा सरसफाइ, वृक्षरोपण, बगैंचा निर्माण र सुन्दर बजार अभियानमा संघमार्फत सहयोग गर्ने योजना अघि सारिएको छ । यसले उद्योग वाणिज्य संघलाई केवल व्यवसायीको संस्था नभई शहर विकासको साझेदारका रूपमा स्थापित गर्ने प्रयास देखिन्छ ।
डिजिटल बिर्तामोडको अवधारणा
न्यौपाने नेतृत्वले संघलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ । सफ्टवेयर प्रयोग, सदस्यता अभिलेख डिजिटाइजेशन, नविकरण प्रणाली सहज बनाउने, तथ्यांक व्यवस्थापन र सूचना प्रवाहलाई आधुनिक बनाउने लक्ष्य लिइएको छ।
आजको प्रतिस्पर्धी बजारमा डिजिटल प्रणाली बिना व्यापारिक संस्था प्रभावकारी हुन नसक्ने बुझाइका साथ उनले यो दिशा समातेका हुन्।
महिला र युवालाई अवसर
संघभित्र महिला उद्यमी समूह गठन तथा कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ। यसले महिलाको व्यवसायिक सहभागिता बढाउने अपेक्षा गरिएको छ।
त्यस्तै ४० वर्षमुनिका युवा व्यवसायीलाई सक्रिय बनाउँदै युवा उद्यमी समूह गठन, उद्यमशीलता तालिम, बैंक तथा वित्तीय संस्थासँग सहकार्यमार्फत अवसर सिर्जना गर्ने नीति पनि ल्याइएको छ।
नयाँ पुस्तालाई संस्थागत नेतृत्वमा ल्याउन खोज्ने यो दृष्टिकोणलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
बिर्तामोडलाई क्षेत्रीय व्यापार केन्द्र बनाउने योजना
कोशी प्रदेशकै प्रमुख व्यापारिक केन्द्रमध्ये बिर्तामोड एक हो । झापाको मुटुका रूपमा परिचित यो शहर तीव्र शहरीकरणको चरणमा छ। यस्तो अवस्थामा उद्योग वाणिज्य संघको भूमिका अझ महत्वपूर्ण हुने न्यौपानेले बारम्बार बताउने गरेका छन्।
उनको नेतृत्वमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन गरियो। स्थानीय उत्पादन, कृषि वस्तु, हस्तकला, पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने लक्ष्य राखिएको छ।
किन महासंघमा न्यौपाने ?
स्थानीय तहमा काम गरेर नतिजा दिएका व्यक्तिलाई अब राष्ट्रिय संस्थामा पठाउनुपर्ने मत व्यवसायी समुदायमा बलियो देखिन्छ। झापाका उद्योगी–व्यवसायीहरूका अनुसार न्यौपाने महासंघमा पुगे पूर्वी क्षेत्रका व्यवसायीका आवाज केन्द्रसम्म प्रभावकारी रूपमा पुग्नेछ।
सीमावर्ती व्यापार, भन्सार समस्या, कर संरचना, बैंक ब्याजदर, आयात–निर्यात चुनौती, स्थानीय बजारको संरक्षण, कृषि व्यापार, पूर्वाधार विकास, पूर्वी औद्योगिक करिडोरजस्ता मुद्दा उठाउन सक्षम प्रतिनिधि आवश्यक रहेको उनीहरूको तर्क छ।
व्यवसायी किन एकजुट ?
लामो संस्थागत अनुभव
सबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता
स्थानीयदेखि नीतिगत तहसम्म संवाद गर्न सक्ने शैली
व्यवसायीका दुःख–सुखमा साथ दिने व्यवहार
विकासमुखी र आधुनिक सोच
युवा, महिला र साना व्यवसायीमैत्री दृष्टिकोण
अधिवेशनको चासो
वैशाख २१ र २२ गते हुने महासंघ अधिवेशनलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। देश आर्थिक मन्दी, लगानी सुस्तता, बैंकिङ दबाब, कर अन्योल र बजार संकुचनबाट गुज्रिरहेका बेला निजी क्षेत्रले बलियो नेतृत्व खोजिरहेको छ।
यस्तो अवस्थामा स्थानीय तहमा सफल अभ्यास गरेका प्रतिनिधिहरू केन्द्रमा पुग्नुपर्ने आवाज उठिरहेको छ। राजु न्यौपानेको उम्मेदवारीलाई त्यसै सन्दर्भमा हेरिएको छ।
राजु न्यौपानेको उम्मेदवारी केवल एउटा पदको प्रतिस्पर्धा होइन, झापाबाट राष्ट्रिय नेतृत्वमा पुग्ने सम्भावनाको परीक्षा पनि हो । बिर्तामोड उद्योग वाणिज्य संघमा उनले देखाएको सक्रियता, संगठन विस्तार, व्यवसायीमैत्री कार्यक्रम, सामाजिक उत्तरदायित्व र समन्वयकारी नेतृत्वशैलीका कारण उनी महासंघको केन्द्रीय सदस्य पदका बलिया दाबेदार बनेका छन् ।

















