बिर्तामोड । 

१३७ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर झापाको बिर्तामोडमा अखिल नेपाल चिया मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट नयाँ नेत्तृव सर्वसम्मत चयन भएको छ । 

बिर्तामोडमा आज (शुक्रवार) भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उमेश रेग्मी, उपाध्यक्षमा देवीप्रसाद खनाल, महासचिवमा जगनाथ पौडेल, सचिवमा राजकुमार तामाङ र कोषाध्यक्षमा सुनिता किसान सर्वसम्मत चयन भएका हुन् । 

sangh

त्यस्तै सदस्यमा इश्वरीमाया बैकारे, कल्पना खड्का, चुण्डे बेस्रा, काशी राजवंशी, हर्स राजवंशी र खड्गमुखिया सर्वसम्मत चयन भएका छन् । घ बर्षे कार्यकाल रहेको समितिको चयनको अध्यक्ष मण्डलीमा हरिकुमार राना, भूपाल सापकोटा, नन्दी चौधरी, नीता विश्वकर्मा र मोहन सब्वा रहेका थिए । 

सम्मेलन अघि अखिल नेपाल ढुवानी मजदुर संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल चिया मजदुर संघसहित बिभिन्न मजदुर संघ संगठनका पदाधिकारी, सदस्य तथा श्रमिकहरुले मजदुरका हकअधिकारका प्ले कार्डसहित र्याली गरेका थिए । संसारका मजदुर एक हौं,  सामाजिक सुरक्षा लागू गर, ट्रेड युनियन महासंघ जिन्दावाद, ट्रेड युनियन महासंघको रक्षा लोकतन्त्रको सुरक्षालगायत नारासहित बिर्तामोडस्थित अखिल नेपाल ढुवानी मजदुर संघको कार्यालयबाट शुरु भएको र्याली मुक्तिचोक हुँदै सिटी सेन्टरमा पुगेर सम्मेलनमा सहभागी भएको थियो । 

संघकी केन्द्रिय संयोजक सिता सापकोटा (सन्ध्या) को अध्यक्षतामा भएको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष धनबहादुर बिकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङ, केन्द्रिय सदस्य हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङले अहिले सवै भन्दा अप्ठेरोमा मजदुर र आधारभूत तहको मान्छे भएको बताएका छन् । ‘देशमा नयाँ सरकार आयो, नयाँ परिवर्तन हुन्छ भनेको त त्यहि सरकार अहिले गरिव, सुकुम्वासी माथि नै आइलागेको छ’ नेता तामाङले भने ‘सुकुम्वासी, भूमिहिन र अव्यस्थित बसोवास र मजदुरका लागि पुराना पार्टीले गरेनन् भनेर नयाँ पार्टी आएको र सवैले विश्वास गरेर राज्य सत्ता जिम्मा दिए तर, यसले त अझ त्यस्तालाई घरबारबिहिन बनाउने भयो ।’ सवैले विश्वास गरेर सवैले साथ सहयोग गरेको बालेन नेतृत्वको सरकार अहिले गरिवको दुश्मन जस्तो गरेर लागेको बताएका छन् । उनले आफ्ना हकअधिकारका लागि सवैलाई एकजुट हुन आग्रह गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि बिकले बालेन सरकारले आज परेको अन्तराष्ट्रिय श्रमिक दिवसमा समेत शुभकामना ब्यक्र नगरेको बताए । उनले त्यसले पनि बालेन नेतृत्वको सरकार श्रमिकको पक्षमा नभएको स्पष्ट देखिएको बताएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै महासंघका उपाध्यक्ष सापकोटाले सरकारले मजदुरका हकअधिकारका लागि लड्ने ट्रेड युनियनहरु खारेज गर्ने भनिरेको बताउँदै ट्रेड युनियन खारेज गर्नु भनेको अर्को नयाँ क्रान्तिको सुरुवात भएको बताएका  छन् । उनले मजदुरका अधिकार खोसिए त्यसको बिरुद्ध सशक्त प्रतिकारसहित आन्दोलन गर्ने चेतावनी दिएका छन् । महासंघ उपाध्यक्ष सापकोटाले लामो समयसम्म सघर्ष गरेर श्रमिक बोल्न पाउने, लेख्न पाउने अधिकार ल्याएको बताउँदै त्यसलाई खोस्न खोजे सवै श्रमिक एकजुट भएर आन्दोलन गर्नु पर्नेमा जोड दिए ।

स्वागत संघका उपाध्यक्ष उमेश रेग्मीले गरेको कार्यक्रमको सञ्चालन संघका सचिव जगनाथ पौडेलले गरेका थिए ।