झापा । 

​झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा बजारमा बस र टिपर एकआपसमा ठोक्कदा १० जना घाइते भएको छन् । आज (शनिवार) बिहान ११ बजे यात्रुबाहक बस र टिपर एकआपसमा ठोक्कीदा १० जना घाइते भएका हुन्। 

दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडक खण्डमा दुर्घटनामा परेका हुन्।

​दुर्घटनामा घाइते हुनेहरूमा बस चालक कृष्णप्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का रहेका छन्। 

घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने अन्यको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ। प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।