झापा ।
वैदेशिक रोजगार क्षेत्रमा तनाव बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्धन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानुनी कडाइ गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ ।
व्यवसायीले सरकारप्रतिमात्रै नभई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन् । आइतबार केही व्यवसायीले संघको सिफलस्थित कार्यालयमा विरोधका कार्यक्रम गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव मिलन कट्टेलले संघको वर्तमान कार्यसमितिले देखिएका समस्या समाधानको पहल र नेतृत्व गर्न नसक्ने भन्दै तत्कालै सिँगो कार्यसमितिले राजीनामा दिनुपर्ने माग गरे । उनले संघ कार्यसमिति सदस्य कृष्णप्रसाद ढकालको नाम नै लिएर दोहोरो चरित्र देखाएको आरोप लगाए ।
महासचिव कट्टेलले कार्यसमिति सदस्य ढकालले कहिले अध्यक्ष र कहिले अर्को पक्षतिर हस्ताक्षर गरेर परिस्थितिलाई अन्योलमा राख्न मुख्य भूमिका खेलेको आरोप पनि लगाए । कार्यसमिति सदस्य ढकालले भने व्यवसाय बचाउन आफूले निःस्वार्थ ढंगले काम गरेको बताएका छन् ।
उता संघका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा बढेको संकटका सम्बन्धमा आइतबार स्मार्ट क्याफेमा पूर्वअध्यक्ष र केही अग्रज व्यवसायीसँग छलफल गरेका छन् ।


















