झापा ।

टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । 

 काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । जहाज धावन मार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले हाल उडान अवतरण बन्द भएको बताउँदै जहाजलाई धावन मार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार हुँदै गरेको जानकारी दिएका छन् । 

इस्तानबुलबाट काठमाडौं आएको  जहाज आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । सो आगो दमकल प्रयोग गरी निभाइएको थियो । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

सो जहाजमा ४ बच्चासहित २७७ यात्रु छन् । उनीहरु सबै सुरक्षित छन् । जहाजमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुको हातमा चोट लागेको छ । जहाजमा केही शव र धेरै सामानहरु पनि रहेको बताइएको छ ।