हल्दीबारी । 

 झापाको हल्दीबारी गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा संस्थागत विद्यालयतर्फ क्यानरी एकेडेमीकी छात्रा पुष्पा दङ्गालले सर्वोत्कृष्ट सफलता हासिल गरेकी छन्। उनले ‘फोर जीपीए’ प्राप्त गर्दै गाउँपालिकाभरिका सामुदायिक तथा संस्थागत दुवैतर्फका विद्यार्थीहरूलाई पछि पारेर पालिका प्रथम भएकी हुन्।

​लक्ष्मीप्रसाद दङ्गाल र कृष्णमाया दङ्गालकी सुपुत्री पुष्पा हल्दीबारी–२ निवासी हुन्। उनको यो ऐतिहासिक सफलताले विद्यालय र समग्र पालिकाकै प्रतिष्ठा बढाएको छ। पुष्पाको नतिजा सार्वजनिक भएसँगै स्थानीय स्तरमा उनको मेहनत र प्रतिभाको उच्च प्रशंसा भइरहेको छ।

​पुष्पा अध्ययनरत क्यानरी एकेडेमीले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। विद्यालयका सबै विद्यार्थीहरू उत्तीर्ण भएर उत्कृष्ट नतिजा आएकोमा विद्यालय प्रशासनले खुसी व्यक्त गरेको छ।

विद्यालयका अध्यक्ष मोहन भट्टराईका अनुसार शिक्षकहरूको उचित मार्गदर्शन र विद्यार्थीको कडा परिश्रमका कारण यो उपलब्धि सम्भव भएको हो। अध्यक्ष भट्टराईले यस वर्ष क्यानरी एकेडेमीले शतप्रतिशत नतिजा निकाल्न सफल भएको जानकारी दिए।