- एकराज गिरी
- पत्रकार साथीहरूलाई सत्य र न्यायको पक्षमा अझ दृढ भएर उभिन, समाजप्रतिको जिम्मेवारीलाई उच्च राख्न र पेशागत मर्यादालाई सधै“ अग्रस्थानमा राख्न आग्रह गर्दछौं।
- झापाको ७३ वर्षको पत्रकारिता र ३७ वर्षको पत्रकार महासंघले नेपाली पत्रकारिताको श्रीवृद्धिमा गर्विलो योगदान गरेको छ ।
अहिले झापाको पत्रकारिता ७३ वर्षमा हिँड्दैछ । इतिहासका दृष्टिकोणले यहाँको पत्रकारिता मोफसलकै अग्रणी मध्येको मानिन्छ । मुलुकमा प्रजातन्त्र प्राप्तिसँगै यहाँको पत्रकारिता उदय भएको पाइन्छ । प्रजातन्त्र प्राप्तिमा समेत यहाँका पत्रकार, लेखक, साहित्यकारको योगदान रहेको बताइन्छ । हालसम्म प्राप्त आधिकारिक प्रमाणका आधारमा चाहिँ २०१० साललाई झापाको पत्रकारिताको औपचारिक आरम्भ विन्दु मानिएको छ । २०१० साल मंसीर १२ गते झापाबाट प्रकाशन शुरु भएको ‘केटो’ मासिक तत्कालिन मेची अञ्चलकै पहिलो पत्रिका र त्यसका सम्पादक श्याकृष्ण उपाध्यायलाई पहिलो पत्रकारको रुपमा मानिएको छ । यसरी हेर्दा झापाको पत्रकारिताले ७२ वर्ष पार गरी ७३ वर्षमा प्रवेश गरेको छ ।
झापामा पत्रकारिताको औपचारिक आरम्भको दुई वर्षपछि मात्र २०१२ साल चैत १६ गते नेपाल पत्रकार संघ केन्द्रीय समिति गठन भएको इतिहास छ । हुन त झापाको पत्रकारिता आरम्भको दुई वर्षअघि २००८ सालमै सत्य नारायणबहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघको गठन भएको बताइन्छ । यस विषयमा फोनिजले आवाज उठाउँदै पनि आएको छ । तर, गठनपछि उक्त संघ निष्क्रिय रहेको भन्दै महासंघको वर्तमान इतिहासमा त्यसलाई गणना गरिएको छैन । त्यहीकारण २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित समितिलाई महासंघले संस्थापक मान्दै आएको छ ।
पत्रकार महासंघ केन्द्रभन्दा झापाको पत्रकारिता अग्रणी भए पनि केन्द्रमा संस्था गठनको ३६ वर्षपछि मात्र यस जिल्लामा पत्रकार संगठित भएको पाइन्छ । ९ पुस २०४६ सालमा डिल्लिराम निर्भिकको नेतृत्वमा गठन (तदर्थ समिति) भएको नेपाल पत्रकार संघ झापा शाखा स्थापनाको ३७औं वर्षमा छ । २०५३ साल असार ११ मा झापामा भएको केन्द्रीय अधिवेशनले तत्कालिन नेपाल पत्रकार संघलाई महासंघमा रुपान्तरण गरेको थियो । नेपाली पत्रकारहरुलाई संगठित गरी उनीहरुको हकहित र अधिकारको पक्षमा क्रियाशील रहनु पत्रकार महासंघको मूल दायित्व हो । यो सँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा पत्रकारिताको व्यवसायिक विकास, पत्रकारको भौतिक सुरक्षा, देश र नागरिकका पक्षमा क्रियाशील रहनु महासंघको उद्देश्य हो । सारमा भन्ने हो भने नेपाल पत्रकार महसांघ श्रमजीवी नेपाली पत्रकारहरुको साझा संस्था हो ।
आजको सूचना प्रवाह तीव्र र प्रविधिमैत्री बन्दै गइरहेको परिवेशमा पत्रकारिताको भूमिकाले झन् गहिरो अर्थ बोकेको छ । सत्य, तथ्य र निष्पक्षताको मूल्यमाथि उभिएको पत्रकारिता नै लोकतन्त्रको बलियो आधार हो । यस सन्दर्भमा झापाका अग्रज पत्रकारहरूले निर्वाह गर्दै आएको भूमिका सराहनीय मात्र होइन, प्रेरणादायी पनि छ । झापाको ७३ वर्षको पत्रकारिता र ३७ वर्षको पत्रकार महासंघले नेपाली पत्रकारिताको श्रीवृद्धिमा गर्विलो योगदान गरेको छ । झापा सम्भवतः अहिले मोफसलमै धेरै सञ्चारकर्मी तथा सञ्चारमाध्यम भएको जिल्ला बनेको छ । यहाँ पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरु गरी एक सय ८० को हाराहारीमा सञ्चारमाध्यम रहेका छन् । पत्रकार महासंघ झापाका सदस्य संख्या दुई सय २२ जना रहेको छ । जसमध्ये महिला ४०, आदिवासी जनजाति ४५, मधेशी ४, दलित ९, अपाङ्गता भएका २ र खसआर्यको संख्या एक सय ६४ रहेको छ ।
महासंघ झापा शाखाको वर्तमान कार्यसमिति १४औं नेतृत्व हो । २८ मंसीर २०८१ को निर्वाचनबाट निर्वाचित कार्यसमितिको पुनः नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो । महासंघ झापाको इतिहासमा पहिलो पटक अध्यक्षको कार्यकाल दोहोरिन पुग्यो । यसअघि २५ चैत २०७७ मा १३औं जिल्ला अधिवेशनबाट मेरो नेतृत्वमा महासंघ झापाको कार्यसमिति निर्वाचित भयो । पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्नु यथार्थमा झापाली सञ्चार क्षेत्रका अग्रजहरुको सल्लाह, आग्रह, सहकर्मी तथा नयाँ पुस्ताका साथीहरुको साथले सिर्जना गरेको अवसर हो । १३औं कार्यसमितिको कार्यकालमा हामीले पत्रकारका हितमा तथा महासंघको विकासमा गरेका दीर्घकालीन र महत्वका कामलाई यस अवधिमा थप व्यवस्थित गर्न दिइएको जिम्मेवारीका रुपमा मैले बुझेको छु ।
कोभिड–१९ को वैश्विक असर लगायतका प्रतिकूल परिस्थितिमा पनि अघिल्लो कार्यकाल महासंघ झापाको इतिहासमै महत्वपूर्ण रहन पुग्यो । पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार सहारा उपचार कोषमा रु. एक करोड ११ लाख ११ हजार एक सय ११ रकम जम्मा गरी घोषणा, भवन स्तरोन्नति, पुरस्कारहरु स्थापना र पुरस्कार अक्षयकोष व्यवस्थापन, झापाको पत्रकारिताको खोज–अन्वेषण गरिएको पुस्तक, सञ्चारकर्मी डायरी, बुलेटिन प्रकाशन, वेबसाइड सञ्चालन, क्षमता विकास, आचारसंहिता जागरण अभियान, पुस्तकालय, ई–पुस्तकालय जस्ता दीर्घकालीन महत्वका कामले त्यस कार्यकाललाई स्वर्णिम बनाएको अनुभूति छ ।
वर्तमान कार्यसमितिको कार्यकालको १७ महिना (करिब मध्यान्तर)मा छौं हामी । यसबीचमा महासंघ कोशी प्रदेश समिति, प्रेस काउन्सिल नेपाल, प्रदेश सरकार, झापाका स्थानीय सरकारसहित विभिन्न निकाय र क्षेत्रको सहकार्यम पत्रकार र पत्रकारिताको हित प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधानको रक्षा, पत्रकार तथा सञ्चार गृहको सुरक्षा लगायतका विषयमा दवावमूलक अभियान सञ्चालन भएका छन् । यस कार्यकालमा पत्रकारहरुको पेशागत सुरक्षा, सामाजिक सुरक्षा, श्रमजीवी पत्रकारहरुको हकहित संरक्षण, क्षमता विकास लगायतका कार्यलाई महासंघ झापाले उच्च प्राथमिकता दिएको छ । पत्रकार सहारा उपचार कोषको रकम वृद्धि, व्यवस्थित सञ्चालनमा ध्यान पु¥याइएको छ । प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रमा देखिएका चुनौतिको सामना गर्न गर्नुपर्ने कार्यहरु, पत्रकारिता क्षेत्रमा मौलाएका विकृति–विसंगतिहरुको अन्त्यका लागि आचारसंहिता जागरण, पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणका विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
नेपाली मिडियामाथि बढ्दो आक्रमण, नियन्त्रण प्रयास, अवरोधहरुले अझ संकट थपेको छ । लोकतन्त्रको प्राण र सत्ताको वास्तविक प्रतिपक्ष मानिने मिडिया क्षेत्रलाई कमजोर बनाउने षड्यन्त्रहरुप्रति सदैव चनाखो बन्नुपर्ने आवश्यकता छ । मिडियाप्रति अनुदार बन्ने सरकारी प्रवृत्ति पहिलदेखिकै श्रृंखला छ । संविधान जारी भई संघीयता कार्यान्वयनमा आएको दशक बित्दा पनि मुलुकमा तीनै तहका सरकारले मिडिया सम्बन्धी पूर्ण कानूनहरु बनाउन नसक्नु, बरु बेला–बेला नियन्त्रण्को प्रयास गर्नुले मिडिया माथिको दृष्टिकोण र सरकारी चरित्र प्रष्ट्याउँछ । मिडियामैत्री कानून बनाएर लागू गर्नका लागि दवाव सिर्जना गर्न ढिला भइसक्यो । स्थानीय सञ्चार माध्यम संकटपूर्ण अवस्थामा छन् । कैयौं पत्रकारले रोजगारी गुमाएका छन् । महासंघ केन्द्र र प्रदेशले सरकारसँग समन्वय गरी मिडिया क्षेत्रको हित र दीगोपनका लागि ठोस काम गर्नुपर्ने आवश्यकता छ ।
स्थानीय क्षेत्रका विज्ञापन पनि राजधानीकै पत्रिकामा छाप्नुपर्ने केन्द्रीकृत सोचको उपज स्थानीय मिडिया आर्थिकरुपमा धरासायी बनेका छन् । खरिद ऐन लगायतका सरकारी कानून संशोधन र व्यवहारिक कानून बनाइ स्थानीय विज्ञापन स्थानीय मिडियामा अनिवार्य प्रकाशन प्रशारणको व्यवस्था मिलाउन सकियो भने मात्र स्थानीय तथा स्वरोजगारमूलक मिडियाको संरक्षण र प्रवद्र्धन हुन सक्छ । सरकारले निजी मिडिया माथि विज्ञापन नाकाबन्दी लगाउने होइन कि मिडियाको मूल आयस्रोत मानिएको विज्ञापनलाई समानुपातिक र पारदर्शी वितरण, स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिने व्यवस्था गरी सबल संघीयताको अभ्यास र सुदृढ लोकतन्त्रका लागि टेवा पु¥याउनुपर्छ भन्ने हाम्रो जोड छ ।
सामाजिक सञ्जाल अर्थात् भिडियोसहितका डिजिटल प्लेटफर्मले सिर्जना गरेका संकटको सामना गर्दै प्रविधिमैत्री बन्नुको विकल्प छैन । सामाजिक सञ्चालले सिर्जना गरेका भ्रमहरुबाट आमसञ्चारका माध्यम बदनाम छन् । आम नागरिकमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यम एकै हुन् भन्ने बुझाइले पनि समस्या सिर्जना गरेको छ । यस्ता विषयमा तथ्यगतरुपमा साझा बुझाइ निर्माण गर्न मिडिया जागरणको खाँचो छ । अझै पनि ठूलो संख्यामा निष्क्रिय रहेका पत्रकारहरुलाई सीप–क्षमता विकासका साथै पेशामा सक्रिय बनाउने वा सदस्यता शुद्धीकरण, लामो समय पत्रकारितामा योगदान गरेका पत्रकारलाई मानार्थ सदस्यताको व्यवस्था, महासंघको संस्थागत विकास र गरिमा वृद्धि, पत्रकारिता पेशा र पत्रकारहरु माथि उठ्ने गरेका प्रश्नहरु, पत्रकारिताको मर्यादामा सुदृढीकरणका विषयहरु हामी माझ अझ पेचिलो बनेर बसेका छन्,जुन हाम्रो आगामी कार्यभार हुन् ।
हामी डिजिटल पत्रकारिताको ‘एआई’ युगमा छौं । यसबीचमा बद्लिएको विश्वसँगै मुलुकको राजनीतिमा आमूल परिवर्तन आएको छ । पत्रकारिता क्षेत्रमा कैयौं संकट र अवरोधहरु छन् । चुनौतीका चाङ छन् । यिनै चुनौतीहरुलाई चिर्दै अवसरहरु सिर्जना गर्नुछ । फेरि पनि हामी अघि बढ्नु छ । हामी विचलित हुने छैनौं–नागरिकको अधिकार रक्षा सँगै अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रता, संघीयताको सबलीकरण, उन्नत लोकतन्त्रको विकास र रक्षाका लागि सरकारलाई खबरदारी गर्ने हाम्रो जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने घडीमा छौं हामी । हाम्रा साझा मुद्दाहरु स्थापित र सम्बोधन गराउन सक्नु अहिलेको आवश्यकता हो ।
पत्रकारिताको शुद्धीकरण, सुढृढीकरण सँगै आपसी सद्भाव, एकता र सहकार्यबाट मात्र यो यात्रा समभव छ । हामीले समीक्षा गर्नैपर्छ– मुलुकको अवस्था बिग्रनुमा हामी पनि जिम्मेवार छौं, हामी कहाँ चुक्यौं ? भुत्ते भएको हाम्रो पत्रकारितालाई धारिलो बनाउन तथ्यका आधारमा सही प्रश्न गरी सरकार र जिम्मेवारीमा बस्नेहरुलाई दायित्वबोध गराउँदै भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धनको प्रमुख भूमिका नेपाली मिडिया क्षेत्रले खेल्नुपर्छ । संस्थागत उद्देश्य हासिलका साथै नागरिक र मुलुकको हितमा हाम्रो जिम्मेवारीलाई सही ढंगले निर्वाह गर्न सक्यौं भने मात्र व्याप्त भ्रष्टाचारको अन्त्य भई सुशासन र समृद्धि हासिल हुनेमा दुईमत छैन ।
पत्रकारिता राज्यको तथा लोकतन्त्रको ‘चौथो अङ्ग’ मात्र होइन, समाजको चेतना, उत्तरदायित्व र रूपान्तरणको आधार पनि हो । महासंघ मार्फत हामीले सञ्चालन गरेका अभियानले पत्रकारिताको व्यावसायिकता, नैतिकता र उत्तरदायित्वलाई अझ सुदृढ बनाउन सघाउने विश्वास लिएका छौं । यस अवसरमा हामी सम्पूर्ण पत्रकार साथीहरूलाई सत्य र न्यायको पक्षमा अझ दृढ भएर उभिन, समाजप्रतिको जिम्मेवारीलाई उच्च राख्न र पेशागत मर्यादालाई सधैं अग्रस्थानमा राख्न आग्रह गर्दछौं ।
अन्त्यमा, हामीलाई १४औं जिल्ला अधिवेशनबाट निर्वाचित गरी काम गर्ने जिम्मेवारी प्रदान गर्नुभएकोमा सिंगो कार्यसमितिमको तर्फबाट महासंघ झापाका सबै सदस्यहरुप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । राम्रो र उत्कृष्ट काम गर्न हामीलाई मार्गदर्शन, हौसला प्रदान गर्नुहुने अग्रजहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, शुभेच्छुक सबै प्रति आभार व्यक्त गर्दछु । महासंघ झापाको अभियानमा सदैव साथ दिने, सहयोग गर्ने, सहकार्य गर्ने सरकार, संघ–संस्था, दाताहरुप्रति हार्दिक सम्मान छ । सञ्चार क्षेत्रको हितमा महासंघले सञ्चालन गरेका अभियान सफल बनाउन खट्नुहुने सबैलाई विशेष धन्यवाद ज्ञापद गर्दछु । आगामी दिनमा पनि महासंघ झापालाई सबै क्षेत्रबाट साथ, सहयोग, हौसला र प्रेरणा प्राप्त भइरहने विश्वास व्यक्त गर्दछु । धन्यवाद ।
(गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।)


















