बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले ११ औं स्मृति दिवसको अवसर पारेर विपन्न परिवारलाई नगदसहित खाद्यान्न सामग्री सहयोग गरेको छ। प्रतिष्ठानले बिर्तामोड–५ को जेष्ठ नागरिक भवनमा आज (बिहिबार) आयोजित ११ औं स्मृति सभाको अवसर पारेर १३ जना विपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको हो।
प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं, विशिष्ट अतिथि अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, पाथिभरा टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद चिमरियासहित निरौला परिवारले उक्त सामग्री हस्तान्तरण गरेका थिए।
प्रतिष्ठानले प्रति परिवार दुई बोरा चामल, २ केजी चना, २ केजी चिनी, ५ केजी दाल, एक दर्जन कपडा धुने साबुनसहित नगद दुई हजार ५ सय रुपैया प्रदान गरेको प्रतिष्ठानका सचिव रमेश निरौलाले जानकारी दिए।
स्वागत प्रतिष्ठानका संस्थापक सचिव लक्ष्मी निरौलाले गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य वसन्त रिमालले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विशिष्ट अतिथि बास्तोला, टोल विकासका अध्यक्ष चिमरिया, पाथिभरा टोल विकास महिला समितिकी अध्यक्ष निर्मला कडरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले बताए । १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको र त्यसको ब्याजबाट प्रत्येक वर्ष सामाजिक कार्य गर्ने गरेको निरौलाको भनाइ छ । यसैगरी प्रतिष्ठानले विपन्न नागरिकका लागि निःशुल्क रुपमा सबवाहन सेवा समेत सञ्चालन गरिरहेको रमेश निरौलालले जानकारी दिए ।

















