झापा। 

गएराति परेको अविरल वर्षासँगै आएको हावाहुरीका कारण झापामा ठूलो भौतिक क्षति भएको छ । हावाहुरीले धेरै घरको छाना उडाएको छ भने बिजुलीको पोल ढलेको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर– १५ गाईनाबारी बस्ने किशोर क्षेत्रीले सञ्चालन गरेको जय माँ कामक्षा इण्डष्ट्रिज प्रालि (प्लाई उद्योग) को गोदाम र जस्ताले बनेको भान्साको छाना उडाएको छ । जसबाट तीन लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गौरादह–६ आरतीनगर बस्ने मानबहादुर पराजुलीको टिनको छाना भएको इटा र काठले बनेको एकतले एककोठे भान्सा घरको छानो उडाई भान्सा घरमा आंशिक क्षति भएको छ । भान्सा घरभित्र रहेको धान २० मन र मकै २० मन पानीले भिज्दा ८० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै बाह्रदशी वडा नं ५ मागुगाउँ बस्ने पृथ्वीलाल राजबंशीको टिनको छानो भएको एकतले घरको टिनको छानो पूर्णरुपमा उडाउँदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका भवनको ग्राउण्ड फ्लोरमा आल्मुनियमबाट निर्माण गरिएको कोठाको बार तथा झ्याल–ढोका पूर्ण रूपमा क्षति भएको छ ।

त्यस्तै मेचीनगर – ८ इटाभट्टामा रहेको सूर्योदय कम्पनीको पार्किङ स्थलको भवनको जस्ताको छाना उडाई सोहि स्थानमा राखिएको मे १ ख २५२६ र मे १ क २७९३ नम्बरको दुबै वटा बसको अगाडिको सिसा फुटेको छ ।

हावाहुरीका कारण विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रअन्तर्गत ५० भन्दा बढी पोल ढलेर क्षति पुगेको छ । विद्युत अवरुद्ध भएको ठाउँहरुमा मर्मत गरी बेलुकासम्म विद्युत सुचारु गराइने अनारमनी बितरण केन्द्रले जनाएको छ । यस्तै झापाका बिभिन्न स्थानमा हावाहुरीका कारण ठू–ठूला रुखहरुसमेत ढलेका छन् ।