धुलाबारी।

मेचीनगर–७ स्थित सतीघट्टामा होलीबेल इङ्लिस स्कुलको बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ज्यान गुमाएका दुई युवाका परिवारलाई कानुनी व्यवस्था अनुसार राहत उपलब्ध गराउने सहमति भएको छ।

दुर्घटनामा मेचीनगर–७ इटाभट्टाका अजय राजवंशी र भारतको गलगलियाका अजय माझीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि बसेको सर्वपक्षीय छलफलमा प्रचलित कानुन अनुसार मृतकका परिवारलाई पाउने राहत उपलब्ध गराउने सहमति भएको हो।

सहमतिअनुसार तत्कालका लागि किरिया खर्चस्वरूप अजय राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ तथा अजय माझीको परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

सहमतिपत्रमा होलीबेल इङ्लिस स्कुलकी प्रिन्सिपल अरिस्ता प्रधान, संस्थापक अमृता प्रधान, निर्देशक अभिषेक श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेत, नेपाल प्रहरी, मेचीनगर–७ का जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा दुवै मृतकका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

दुर्घटनामा संलग्न बस चालकलाई इलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुवै मृतकको शव परीक्षण (पोस्टमार्टम) सम्पन्न गरी आजै अन्त्येष्टि गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।