बिर्तामोड । 

झापाको बिर्तामोडमा आयोजना हुन लागेको दुई दिने ‘रोजगार मेला’ को तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग बाणिज्य संघको सहकार्यमा आयोजना हुन लागेको रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । 

जेठ ३० र ३१ गते बिर्तामोडमा हुने रोजगार मेलाको बिषयमा आज (बिहीवार) बिर्तामोड नगरपालिकामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । मेलाको तयारी र प्रभावकारिताका विषयमा यसअघि नै नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरिसकेको थियो । 

रोजगार मेलामा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि यो मेला निकै महत्त्वपूर्णहुने मेलाका सहजकर्ता सेवक बजगाँईले  बताए । उनले मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टलहरू रहने साथै मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिए ।

मेलामा १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि  मेला लाभदायक हुने र विशेषगरी भर्खरै औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी, औपचारिक शिक्षाका साथै विशेष सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त नागरिक र वैकल्पिक समयमा काम गर्न चाहने व्यक्तिहरू मेलामा सहभागीता जनाउन सक्ने बताइएको छ । 

बिर्तामोड नगरपालिकाका उप–सचिव तिलचन भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

नगरका रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले स्वागत गरेको कार्यक्रममा पत्रकारहरुको जिज्ञासाका जवाफ मेलाका सहजकर्ता सेवक बजगाँई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतले दिएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गरेका थिए । रोजगार मेला बिर्तामोडस्थित अतिथि सदनमा आयोजना गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ।