बिर्तामोड । 

वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पुगेका दुई नेपाली युवाले विदेशमा आर्जन गरेको सीप, अनुभव र व्यावसायिक ज्ञानलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित झापाको बिर्तामोडमा ‘कङ्गारू मोबाइल जोन’ सञ्चालनमा ल्याएका छन्।

झापाका युवा उद्यमी स्मृति ढकाल र अरूण उप्रेतीले बिर्तामोडस्थित वनस्टप मलमा आगामी असार ३ गतेदेखि कङ्गारू मोबाइल जोन औपचारिक रूपमा सञ्चालनमा ल्याउन लागेका हुन्। अष्ट्रेलियामा सात वर्षदेखि मोबाइल व्यवसाय सञ्चालन गर्दै आएका उनीहरूले त्यहाँको सेवा अवधारणा र व्यावसायिक अभ्यासलाई नेपालमा भित्र्याउने लक्ष्यसहित व्यवसाय विस्तार गरेको बताएका छन्।

सञ्चालक अरूण उप्रेतीका अनुसार अष्ट्रेलियामा सञ्चालित कङ्गारू मोबाइल जोनले गुणस्तरीय सेवा, ग्राहकमैत्री व्यवहार र प्रविधिमैत्री व्यवस्थापनका कारण विश्वास जित्न सफल भएको छ। सोही अनुभवलाई आधार बनाएर नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा नयाँ शाखा स्थापना गरिएको हो।

उनले विदेशबाट फर्किएका युवाले केवल रोजगारी खोज्ने नभई आफूले सिकेको ज्ञान र सीपलाई स्वदेशको उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। ूहामीले अष्ट्रेलियामा सञ्चालन गर्दै आएको कङ्गारू मोबाइल जोनको सेवा अवधारणालाई स्वदेशमै विस्तार गर्दै उस्तै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा प्रदान गर्ने योजना बनाएका छौँ’ उनले भने, ‘हाम्रो उद्देश्य केवल व्यापार विस्तार मात्र होइन, मोबाइल प्रविधिसम्बन्धी सीप विकासमा समेत योगदान पुर्‍याउनु हो।’

उप्रेतीका अनुसार व्यवसायसँगै युवाको क्षमता अभिवृद्धिमा पनि संस्थाले ध्यान दिनेछ। विदेश जान चाहने तथा स्वदेशमै मोबाइलसम्बन्धी प्राविधिक सीप हासिल गर्न इच्छुक युवालाई आवश्यक तालिम, व्यवहारिक ज्ञान र दक्षता विकासका अवसर उपलब्ध गराइने उनले बताए। यसले रोजगारी सिर्जना तथा स्वरोजगार प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास उनको छ।

सञ्चालक स्मृति ढकालले अष्ट्रेलियाका विभिन्न स्थानमा १६ वटा स्टल सञ्चालनमा रहेको जानकारी दिँदै त्यहाँको व्यवसाय सञ्चालनका क्रममा सिकेका व्यावसायिक मूल्य, सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वलाई नेपालमा पनि स्थापित गर्ने प्रयास गरिएको बताइन्।

‘अष्ट्रेलियामा रहँदा मोबाइलसम्बन्धी सीप, ज्ञान र व्यावसायिक अनुभव आर्जन गर्‍यौँ’ उनले भनिन्, ‘ूत्यही अनुभवलाई मातृभूमिमा उपयोग गर्ने सोचका साथ बिर्तामोडबाट सेवा विस्तार गरेका हौँ।’ उनका अनुसार कङ्गारू मोबाइल जोनमा नयाँ तथा ब्रान्डेड मोबाइल फोन, ग्यारेन्टीसहितका प्रयोग गरिएका मोबाइल सेट, ब्रान्डेड मोबाइल एक्सेसरिज, मोबाइल मर्मत सेवा, प्राविधिक तालिम तथा सरल, सुलभ र ग्राहकमैत्री मूल्य नीति उपलब्ध हुनेछ।

मोबाइल बजारमा पछिल्लो समय बढ्दो प्रतिस्पर्धाबीच विश्वासिलो सेवा र दक्ष प्राविधिक जनशक्तिको अभाव महसुस भइरहेका बेला अन्तर्राष्ट्रिय अनुभव बोकेका नेपाली युवाको यस्तो पहलले स्थानीय बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। विशेषगरी विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको आर्थिक गतिविधिसँग जोड्ने प्रयासका रूपमा यसलाई सकारात्मक रूपमा हेरिएको छ।

पत्रकार सम्मेलनमार्फत व्यवसाय सञ्चालनको जानकारी गराइएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए । कङ्गारू मोबाइल जोनले बिर्तामोडलाई केन्द्र बनाएर आगामी दिनमा सेवा विस्तार गर्दै जाने योजना समेत सार्वजनिक गरेको छ।