बिर्तामोड । 

झापाको बिर्तामोडमा यहिँ कार्तिक १४ गते गैरआवासीय नेपालीको स्वदेश फिर्ती तथा वंशजको नागरिकताको निरन्तरता सम्बन्धी अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रम हुने भएको छ । 

बासुदेव घिमिरे (झापाः हाल अमेरिका), जेन्जी र गैर आवासीयका अभिभावक (झापा चेन्ज केमर्स) को आयोजनामा सरोकारवालाहरुसँग प्यानल डिस्कसन गरिन लागेको मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 

नेपालबाट वंशजको आधारमा जन्मिएका र हाल विश्वका विभिन्न मुलुकमा (विशेष गरी अमेरिका, क्यानाडा) कर्मभूमि  बनाएर गैरआवासीय नेपाली नागरिकहरूलाई राज्यले अनागरिक सरह व्यवहार गरी विदेशी बनाइ राखेको भन्दै सरोकारवाला बिज्ञहरुसँग अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको मनकामना कलेजमा कक्षा १२ मा अध्ययनरत चेतन गौतमले जानकारी दिए । 

विगत एक दशक यता नागरिकता सम्बन्धी कानुनमा गरिएका अनेकौँ तोडमोड र छिद्रहरूका कारण विदेशीहरूले सहज रूपमा नागरिकता प्राप्त गर्ने तर वंशजका वास्तविक नागरिकहरू क्रमिक रूपमा पलायन हुँदै राज्य गैर वंशज वा अंगीकृतहरूको हातमा पुग्ने गम्भीर खतरा सिर्जना भएको उनले बताए । यसले देशलाई गम्भीर शून्यताको अव्यवस्थाको स्थितिमा पुग्नबाट रोक्नुपर्ने आवश्यकता टड्कारो बनेको उनको भनाई छ । 

‘विदेशमा रहेका आफ्ना सन्तान, विज्ञता, त्यहाँ आर्जित उच्च शिक्षा र पुँजीसहित नेपाल फर्केर देशको विकासमा योगदान दिन चाहँदा पनि राज्यले किन अनावश्यक कानुनी अड्चन खडा गरिरहेको छ’ गौतमले भने ‘गम्भीर प्रश्न आज पुस्ताको रूपमा उभिएको बेलामा जेन्जीहरू माझ ठूलो कौतुहलता र चासोको विषय बनेको छ ।’ बुढेसकालमा अभिभावकहरूको सहारा बन्नुपर्ने सन्तानहरू विदेशिन बाध्य हुनु र उनीहरूकोस्वदेश फिर्ती रोकिनुले देशको भविष्य संकटमा पर्दै गएको उनीहरुको ठहर छ । 

एक सुखी र समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीहरूको रिटर्न माइग्रेसन अत्यन्त महत्वपूर्ण रहेको महसुस गरी उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए ।  कार्यक्रममा गैरआवासीय अभिभावक, विज्ञ तथा झापाका प्रतिनिधिहरूको समेत संयुक्त प्रयासमा बिर्तामोडमा एक भव्य अन्तरक्रिया तथा अभिमुखीकरण सभाको आयोजना  गरिएको बताइएको छ । 

वंशजका नेपाली नागरिकहरू नेपाल फर्किदा यहाँको अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभाव, उनीहरूको विज्ञताले विश्वविद्यालय र विद्यालयहरूको शैक्षिक गुणस्तरमा ल्याउने क्रान्ति र इकोनोमी मल्टिप्लाई (गुणात्मक रूपमा वृद्धि) भई देशको कुल बजेटमा नै दोब्बरसम्मको सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको यस सम्बन्धी अभियन्ता रामेश्वर निरौलाले बताउ । 

उनले कार्यक्रममा गहन छलफल हुन बताएका छन् । देशलाई विकास खर्चका लागि सधैं विदेशी ऋण र अनुदानको भरमा बस्नुपर्ने बाध्यताबाट मुक्त गर्न अब जेन्जी युवाहरू जागरुक भएका छन् । विदेशमा रहेका आफ्ना आफन्तहरूलाई स्वदेश फर्काउन र राज्यलाई नीतिगत सुधारका लागि दबाब दिन यो अभियानको थालनी गरिएको निरौृले जानकारी दिए । 

कार्यक्रममा विशेष विज्ञहरू झापा जिल्लाका साँसदहरु, काठमाडौँबाट आउने विज्ञ तथा संयुक्त राज्य अमेरिका र क्यानाडाबाट विशेष रूपमा उपस्थित हुने विज्ञ व्यक्तित्वहरू, न्यायक्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।