झापा ।
नेपालमा हाल मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ। अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण देशका फरक–फरक भू–भागमा मौसमको विविध रूप देखिन थालेको छ।
अहिले देशको हिमाली र पहाडी भू(भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ। बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार अर्थात आजको मौसम पूर्वानुमान हेर्दा देशको हिमाली भू–भाग र कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ। देशका अन्य पहाडी भू–भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ। पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।
एकतर्फ पहाडी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने महाशाखाले जनाएको छ ।


















