झापा। 

झापाको कनकाई नगरपालिकामा मोटरसाइकलमा लिफ्‌ट दिएर महिलाको गहना लुट्ने एक युवक पक्राउ परेका छन् । शनिवार साँझ ७ः४५ बजेको समयमा  कनकाई–२ जामुनबारी जाने बाटोमा पाँचथर फिदिम–४ घर भई हाल कनकाई–४ कोटीहोम बस्दै आएका २२ वर्षीय जीवन तामाङले कनकाई–३ टप्पु चौककी ५० वर्षीया बिमला लिम्बु भुजेललाई घर पुर्‍याई दिन्छु भनी आफ्‌नो मे.४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाएका थिए । 

उनले कनकाई १ र २ को सिमाना बाघे खोलाको पुलमा भुजेलको कानमा रहेको सुनको मुन्द्रा लुटेका थिए । महिलाले तत्काल होहल्ला गरेपछि स्थानीयहरु भेला भएका थिए ।

स्थानीयहरुको कुटाइबाट तामाङ घाइते भएका छन् । उनलाई कनकाई नगर अस्पताल सुरुङ्गा लगिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँबाट डिस्चार्ज गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सुनको मुन्द्रा थान २, ओपो मोबाईल थान १ र ३ हजार रुपैयाँसहित मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको र महिलालाई आफन्तको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।